६ कार्तिक २०७७, बिहीबार

वाग्मतीको मार्गचित्र विमोचित

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौगोलिक विकटता, जनसाङ्खिक विविधता, समावेशिताजन्य चुनौती र समस्यासँग जुध्दै समाजवादोन्मुख वातावरण तयार पार्ने दायित्व प्रदेश सरकारको रहेको बताउनुभएको छ ।

प्रदेश नीति तथा योजना आयोगले तयार पारेको “दिगो विकासका लक्ष्यहरू, वाग्मती प्रदेशको अवस्था तथा मार्गचित्र” नामक पुस्तक विमोचन गर्दै उहाँले अहिले पनि तीनै तहका सरकारले विकासमुखीभन्दा पनि वितरणमुखी बजेट प्रस्तुत गरिरहेकोले यसलाई सुधार्न जरुरी रहेको धारणा राख्नुभयो ।

पुस्तकमा नेपालको दिगो विकासको चित्रण प्रस्तुत गरिनाका साथै महत्वपूर्ण वर्षका रूपमा रहेको २०१९, २०२२ र २०२५ का लागि प्रमुख आधार तथ्यांक समावेश गरी सन् २०३० का लागि मार्गचित्र प्रस्तुत गरिएको छ ।

उहाँले विकासका लक्ष्य र निर्धारित उद्देश्य समयमै प्राप्त गर्नका लागि सरकारी र गैरसरकारी निजी र सामुदायिक क्षेत्रबीच रणनीतिक साझेदारी हुन आवश्यक रहेकामा जोड दिनुभयो ।