१५ बैशाख २०८१, शनिबार

इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल

all.jpg

साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको अल नासरले करिम बेन्जिमाको अल इत्तिहादमाथि ५ – २ गोलको जित हात पारेको छ । नासारको जितमा रोनाल्डोले २ गोल गरे । योसंगै ३८ वर्षीय पोर्चुगिच फरवार्ड सन् २०२३ को उच्च गोलकर्ता बनेका छन् ।

प्रिन्स अब्दुल्लाह अल फैजल स्टेडियममा घरेलु टोली इत्तिहादले सुरुवाती अग्रता जोगाउन सकेन । १४ औं मिनेटमा अब्देर रजाक हम्दल्लाहले गोल गरेका थिए । तर १९ औं मिनेटमै रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे । ३८ औँ मिनेटमा ब्राजिलियन एन्डरसन टालिस्काले गोल गरेपछि नासार पहिलो हाफमा अग्रता बनाउन सफल भयो ।

५१ औं मिनेटमा इत्तिहादले बराबरी गोल फर्कायो । यो पटक पनि अब्देर रजाकले नै गोल गरेका हुन् । तर नासारले बाँकी समयमा ३ गोल गर्दा इत्तिहाद १० खेलाडीमा समेटियो । ६६ औं मिनेटमा फाबिन्होले रातो कार्ड पाएका हुन् । ६८ औं मिनेटमा भीएआरबाट पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरे । योसँगै सन् २०२३ मा रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनको कुल गोल संख्या ५३ पुगेको छ । रोनाल्डोभन्दा पछाडि बायर्न म्युनिखका ह्यारी केन र पेरिस सेन्ट जर्मेन पीएसजीका किलियन एम्बाप्पे छन् । दुवैले समान ५२ गोल गरेका छन् । म्यानचेस्टर सिटीका अर्लिङ हालान्डको नाममा ५० गोल छ ।

नासरका लागि थप २ गोल साडियो मानेले ७५ र ८२ औँ मिनेटमा गरेका थिए । दोस्रो स्थानमा रहेको नासरको १८ खेलबाट ४३ अंक छ । शीर्ष स्थानको अल हिलाल ७ अंकले अगाडि छ ।

    सम्बन्धित समाचार...