१५ बैशाख २०८१, शनिबार

कांग्रेसका प्रदेश सभापति र मन्त्रीको कारण गौर अस्पतालको दयनीय हालत

gaur

नेपाली कांग्रेस मधेश प्रदेशका सभापति र सरकारमा रहेका कांग्रेसका मन्त्री तथा सांसदहरूको अकर्मण्यताको कारण प्रादेशिक अस्पताल गौरको अवस्था पूर्ण रूपमा दयनीय बनेको छ।

प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ भने झण्डै १ दर्जन डाक्टरले महिनौँ देखि तलब भत्ता पाउन सकेका छैनन्। अस्पतालमा कार्यरत डाक्टर मध्ये ११ जना डाक्टरले एक सूचना जारिगर्दै आजदेखि आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन्।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हाशमीले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशका सभापति,मन्त्री र सांसदका कारण अस्पताल अवस्था लथालिङ्ग भएको गुनासो गरेका हुन्।

केही मन्त्रीहरूले मानवको स्वास्थ्यसँग जोडिएको अस्पताल जस्तो अति संवेदनशील ठाउँमा राजनीतिकरण गरेर अस्पताल कर्मचारीको सरुवामा समेत हस्तक्षेप गरेको कारण अस्पतालको अवस्था नाजुक बनेको अध्यक्ष हाशमीले बताए।

रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री वीरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गरिरहेको उनले आरोप लगाएका छन् ।

अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएको पत्रकार सम्मेलनमा हासमिले प्रस्ट पारेका छन्।

अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत छन् र दुबैबिच चर्को विवाद रहेको छ । मेडिकल सुपरिटेन्डेण्ट कृष्ण साहलाई फिर्ता गर्न स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरे पनि मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको अध्यक्ष हासमिले बताए ।

ऐनमा प्रदेशमा कर्मचारी नभए मात्र संघको कर्मचारी राख्ने प्रावधान छ । तर ऐनविपरीत पहिलादेखि नै कार्यरत मेडिकल सुपरिटेन्डेण्ट सिंह हुँदाहुँदै बलजबरजस्ती संघको कर्मचारी कृष्ण प्रसाद साहलाई टिकाएर राखिएको छ।

संजीव सिंह एघारौँ तह र कृष्ण साह दशौँ तहका कर्मचारी हुन । सिंह सिनियर कर्मचारी रहेकोले मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हाशमीको माग छ ।

विवादको कारण अस्पतालमा कार्यरत झण्डै एकदर्जन डाक्टर तलब पाउन नसकेकाले माघ ७ गतेदेखी आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरी

बन्द हडतालमा उत्रने चेतावनी दिइसकेको कारण ठुलो समस्या उत्पन्न भएको उनले बताए ।

डा. कृष्ण प्रसाद साहले विगतका दिनमा अक्सिजन प्लान्ट खरिदमा लाखौँ घोटाला गरेको आरोप लगाउँदै अध्यक्ष हाशमिले त्यसको छानविन हुनुपर्ने माग गरेका थिए।

अस्पताल जस्तो ठाउँमा नेताहरूले राजनीति गर्न थालेका कारण अस्पतालको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको भन्दै माघ ११ गतेसम्म मेसुको विवाद सुल्झाएन भने कडा कदम चाल्न बाध्य हुने प्रादेशिक अस्पताल गौरमा अध्यक्ष अनवर हासमिले चेतावनी दिएका छन्।

    सम्बन्धित समाचार...