१५ बैशाख २०८१, शनिबार

पाकिस्तानी क्रिकेटर शोएब मलिकले गरे अभिनेत्री सना जावेदसँग तेस्रो बिहे

Shoaib Malik marries Pak actress

भारतकी पूर्व टेनिसस्टार सानिया मिर्जाका पति पाकिस्तानी क्रिकेटर सोयब मल्लिकले अर्को बिहे गरेका छन् । उनले पाकिस्तानी अभिनेत्री सना जाबेदसित तेस्रो बिहे गरेका हुन् ।

सोयब र सानियाबीच सम्बन्ध विच्छेद हुन लागेको चर्चा लामो समयदेखि चल्दै आएको थियो । सोयबले अचानक आफ्नो इन्स्टाग्राममा विवाहको तस्बिर पोस्ट गरेपछि फ्यानहरू स्तब्ध बनेका छन् । सोयबले आफ्नो पोस्टमा अत्यधिक नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरेको छ ।

सना जाबेदले पनि इन्स्टामा आफ्नो नाम पछाडि मलिक जोडेकी छन् । उनको यो दोस्रो बिहे हो । सानाले सन् २०२० मा पाकिस्तानी गायक उमैर जैसवालसित जोडी बाँधेकी थिइन् । चार महिना अगाडि मात्र उनीहरूको डिभोर्स भएको बताइएको छ ।

यसैबीच सानियाले सोयबसित सम्बन्ध विच्छेद भएको संकेत मिल्ने स्टाटस लेखेकी छन् । उनी इन्स्टामा लेख्छिन्, ‘विवाह कठिन छ, डिभोर्स कठिन छ । आफ्नो कठिनाइ आफैँ रोज्नुहोस् ।’

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार सानियाले एकपक्षीय रूपमा सोयबसित डिभोर्स लिएकी छन् । पाकिस्तानको संविधानले ‘खुला’ प्रावधान अन्तरगत श्रीमतीले चाहेमा एक पक्षीयरूपमा सम्बन्ध विच्छेदको अधिकार दिएको छ ।

सोयब र सानियाको विवाह सन् २०१० मा भएको थियो । उनीहरूका पाँच वर्षीय छोरा इजान छन् । उनीहरूको सम्बन्धमा दरार आएको चर्चा सन् २०२२ देखि चल्न थालेको थियो । लामो समयदेखि उनीहरू एकसाथ देखिएका थिएनन् ।

सानियाभन्दा अगाडि सोयबको आयशा सिद्दिकीसित पहिलो विवाह भएको थियो । आयशासित डिभोर्स गर्दै सोयबले सानियालाई दोस्रो पत्नी बनाएका थिए । दुस्मनीपूर्ण सम्बन्धमा भएका दुई देशका स्टारको बिहेले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो ।

५ महिनाको डेटिङपछि मलिकले गरेका थिए सानियासँग विवाह

सानिया–शोएबको पहिलो भेट सन् २००४–२००५ मा भारतमा भएको थियो। यद्यपि उक्त समयमा सामान्य चिनजान मात्र भएको थियो। त्यसपछि यी दुईबीच सन् २००९–२०१० मा अस्ट्रेलियाको होबार्टमा दोस्रो भेट भएको थियो।

सानिया टेनिस खेल्न आएकी थिइन् भने शोएब आफ्नो टोलीसँग क्रिकेट खेल्न आएका थिए। त्यतिबेला पाकिस्तानी टोली अस्ट्रेलिया भ्रमणमा थियो। यहाँ उनीहरुको परिचय मित्रतामा परिणत भयो र त्यसपछि भेटघाटको सिलसिला सुरु भएको थियो।

करिब ५ महिना एकअर्कालाई ‘डेट’ गरेपछि दुवैले सन् २०१० मा विवाह गर्ने निर्णय गरेका थिए। सानिया र शोएबको विवाह १२ अप्रिल २०१० मा हैदराबादमा भएको थियो।

१५ अप्रिलमा लाहोरमा स्वागत समारोह आयोजना गरिएको थियो। सानिया मिर्जा र शोएब मलिकले पाकिस्तानको लाहोरमा आफ्नो विवाहको रिसेप्शन दिएका थिए। विवाहको ८ वर्षपछि उनीहरुको छोरा जन्मिएको थियो।

छोराको जन्म हुँदा सानियाले टेनिसबाट डेढ वर्षको ब्रेक लिएकी थिइन्। सानियाले आफ्नो आत्मकथा ‘एस अगेन्स्ट ओड्स’ मा लेखेकी छिन् कि शोएब उनको जीवनमा यस्तो समयमा आएका थिए, जब उनी आफ्नो व्यावसायिक जीवनमा समस्याको सामना गरिरहेकी थिइन्।

सानियाले गत वर्ष जनवरीमा टेनिसबाट सन्नयास लिएकी थिइन्। उनले हैदराबादको लालबहादुर रंगशालामा भारतका रोहन बोपन्नासँग बिदाइ खेल खेलेर टेनिसलाई ‘बाईबाई’ गरेकी थिइन्।

सानियाले आफ्नो टेनिस करियरमा अधिकांश खेल डबल्स र मिक्स्ड डबल्स विधामा खेलेकी थिइन्। उनले ६ ग्राण्डस्लाम जितेका छन्। उनी २०१६ रियो ओलम्पिकमा पनि सेमिफाइनलमा पुगेकी थिइन्। ग्राण्ड स्लामबाहेक उनले आफ्नो करियरमा विभिन्न तहमा ४३ उपाधि जितिसकेकी छन्।

अभिनेत्री जावेदले इन्स्टाग्राममा गरिन् थर परिवर्तन

पाकिस्तानी नायिका सना जावेदले आफ्नो बायोमा आफ्ना पति शोएब मलिकको नाम पनि थपेकी छन्। यसअघि उनको अकाउन्टमा ‘सना जावेद’ लेखिएको थियो तर अब उनले आफ्नो अकाउन्टमा ‘सना शोएब मलिक’ लेखेकी छन्।

इन्स्टाग्राममा उनको अन्तिम पोष्ट पनि मलिकसँगको विवाहको बारेमा थियो। जसको क्याप्सन छ, ‘अल्हमदुलिल्लाह, र उहाँले हामीलाई जोडी बनाउनुभयो।’

पहिलो विवाह आयशासँग

शोएबको पहिलो विवाह आयशा सिद्दीकीसँग भएको थियो। उनले सन् २००२ मा भारतको हैदराबादकी मोडल आयशा सिद्दीकीसँग भएको थियो।

सन् २०१० मा आयशासँग सम्बन्धविच्छेद गरेपछि शोएबले सानिया मिर्जासँग दोस्रो विवाह गरे। उनीहरुको सम्बन्ध १४ वर्षसम्म चल्यो र अहिले उनले पाकिस्तानी अभिनेत्री सना जावेदसँग तेस्रो विवाह गरेका छन्।

    सम्बन्धित समाचार...