९ जेष्ठ २०८१, बुधबार

हिमाली बस्ती नै हिउँको प्रतीक्षामा

33d4e6068a9ab28101108b3cf01358431706253257

मुगुको छायाँनाथ रारा नगरपालिका-४ भामवाडा गाउँका ६० वर्षिया काँसिराम परियार अहिलेदेखि नै अनिकाल हुने पीर लाग्न थालेको छ । विगतका वर्षहरुमा मंसिरको पहिलो साता तिरै घरआँगनमै १ फिटभन्दा बढी हिमपात हुनुका साथै डाँडाकाँडा सेताम्ये भएको देख्दाको सम्झना अहिले ताजै छ ।

तर, पछिल्लो समय माघ महिना लाग्दा पनि हिमपात नहुँदा उनी चिन्तित् छन् । कर्णाली प्रदेशका उपल्लो हिमाली जिल्लाहरुमा यस वर्ष समयमै हिउँ, पानी नपर्दा किसान चिन्तित् बनेका छन् । मुगुमा मंसिरको तेस्रो साता उपल्लो क्षेत्र तिर हल्का हिमपात र थोरै पानी परे पनि बेंसीमा गत असोजदेखि पानी परेको छैन । लामो खडेरीले जौं, गहुँ बाली देखि बारीको तरकारी समेत सुक्न थालेपछि मुगुका नागरिक चिन्तित बन्न थालेका छन् ।

माघ महिनाको दाेस्राे साता लागिसक्दा पनि मुगुमा हिउँ नपर्दा खेतिबारीमा लगाइएका बालीनाली, जौ , गहुँ र तरकारी खेती सुक्न थालेपछि यहाँका किसान निरास भएका छन् । हिउँदे वर्षा र हिमपातको पर्खाइमा रहेका मुगुका नागरिक अझै हिमपात नभए बालीनाली उत्पादनमा प्रभावित हुनुका साथै जलवायु परिवर्तन र मौसम परिवर्तनले स्वास्थ्यमा पनि समस्या हुन थालेको छायाँनाथ रारा नगरपालिका-४ का मैनासिंह नेपालीले बताए ।

लामो खडेरीले जौं, गहुँ बालीदेखि बारीको तरकारी समेत सुक्न थाले पछि स्थानीय चिन्तित हुन थालेका छन् । वर्षा र हिउँ नपर्दा बारीको तरकारी सुक्न थालेको छ । पुस महिना हिउँको महिना हो बेलामा पानी पनि पर्दैन, हिउँ पनि परेको छैन । दुई/चार वर्ष अगाडी पुस नलाग्दै हिउँले धारा पँधेरा ढाक्ने गरेको थियो । अहिले माघ महिना आईपुग्दा पनि हिउँ न पानी परेको छैन ।

प्राय:जसाे पुस महिनामा सेताम्य देखिने पर्यटकीय क्षेत्र रारामा पनि यो पटक हिउँ परेको छैन । गत मंसिरमा हल्का हिउँ परे पनि बाक्लो हिमपात नहुँदा रारा सुक्खा र उराठ देखिएको छ । रारा पुगेका पर्यटकले यसपालि अघिल्ला वर्ष जस्तो हिउँ खेल्न पाएका छैनन् । हिउँ नपर्दा रारामा आन्तरिक तथा बाह्य पर्यटकहरुले रमाउन पाएका छैनन् । स्वर्गकि उपमा पाएको रारामा हिउँ नपर्दा काला राता पहाडमा परिणत भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर तथा सूचना अधिकारी जयहरि धितालले जानकारी दिए ।

हिउँ नपर्दासम्म फलफूलदेखि अन्नबालीसम्म नसप्रिने संकते देखिएको छ । मुगुमा १३ हजार १ सय ३८ हेक्टर खेतियोग्य जमिन रहेको छ । जसमा १० हजार ४ सय ६१ हेक्टरमा खेती गरिएको जमिन छ । त्यस्तै २ हजार ६ सय ७७ हेक्टर बाँकि जमिन छ भने २ हजार ८ सय ९० हेक्टर सिञ्चित जमिन रहेको कृषि तथ्यांकले देखाएको छ ।

मुगुमा आकाशे पानीको भरमा खेतिपाती गरिन्छ । हाकाशे पानीको भरमा खेतिपाती गरेका किसानहरु लाई सरकारी कार्यालयहरुले कृषि सिंचाई का कार्यक्रमहरु प्रभावकारी नदेखिएका कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्र बहादुर शाहीको भनाइ छ ।

उच्च हिमाली बस्ती जडिबुटीमा आत्मनिर्भर स्थानीय पनि हिमपातको प्रतीक्षामा छन् । बाक्लो हिउँ नपरेको वर्ष जडीबुटी उत्पादन पनि घट्ने स्थानीयको अनुभव छ । धेरै हिउँ परेको वर्ष यार्सा, कटुकी भोल्ते, चिराइतो, गुच्ची च्याउ राम्रो फल्ने किसानको भनाइ छ । हिमपातको डरले बेंसी झरेका मुगु गाउँका बासिन्दा हिउँ नपर्दा चिन्तित बनेका छन् ।

    सम्बन्धित समाचार...