२३ बैशाख २०८१, आईतवार

सकियो ‘डिग्री माईला’ को सुटिङ्ग, नयाँ बर्षमा रिलिज हुने

Digree Maila

राम बाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सकिएको छ ।

आगामी नयाँ वर्षको अवसर पारेर रिलिज हुने फिल्मको छायांकन दुई चरणमा गरेर ४५ दिनमा ‘प्याकअप’ गरिएको हो ।

पहिलो चरणको छायांकन गत असोज १ गतेबाट ओखलढुंगाको रुम्जाटार गाउँमा सुरु गरिएको थियो । त्यसपछि झण्डै दुई महिना ‘ब्रेक’ लिएर दोस्रो चरणको छायांकन काठमाडौंबाट सुरु गर्दै रुम्जाटारमै पुगेर सकिएको हो ।

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै फर्स्टलुक पोस्टर सार्वजनिक भएको थियो । जसमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको थियो । पोस्टरमा उनलाई शिक्षित बेरोजगारको रुपमा चित्रित गर्दै काठको बेन्चीमा गम्भिर मुद्रामा केही सोचिरहेको र चश्मा लगाएर जुँगा पालेको दखाइएको थियो ।

फिल्ममा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । ‘डिग्री माइला’ वर्षकै प्रतिक्षित फिल्म रहेको छ ।

    सम्बन्धित समाचार...