१५ बैशाख २०८१, शनिबार

म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

manchester united

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३ – २ गोलले पराजित गरेको छ । युनाइटेडको जितमा रास्मस हइलुन्डले विजयी गोल गरे ।

ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेड २ – ० गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो । एस्टन भिल्लाले पहिलो हाफमै २ गोल गर्‍यो । २१ औं मिनेटमा जना मिक्गिनले गोल गरेका थिए ।

२६ औं मिनेटमा लियन्डर डेन्डोन्करले गोल गरेपछि घरेलु टोली २ – ० ले पछि परेको थियो । तर दोस्रो हाफमा एरिक टेन हाखको टोलीले उत्कृष्ट पुनरागमन गर्‍यो । ५९ औं मिनेटमा अलेहान्द्रो गारान्चोको गोलमार्फत युनाइटेड खेलमा फर्किएको हो । उनलाइ मार्कस र्‍यासफर्डले पास उपलब्ध गराएका थिए ।

७१ औं मिनेटमा पुन: १९ वर्षीय अर्जेन्टाइन गारान्चोले गोल गरेपछि खेल २ – २ को रोमाञ्चक बराबरीमा पुगेको थियो । ८२ औं मिनेटमा हइलुन्डले प्रिमियर लिगमा आफ्नो पहिलो गोल गरेपछि युनाइटेडले खराब प्रदर्शनको सिलसिला तोडेको हो । प्रिमियर लिगमा युनाइटेडले तीन खेलपछि हात पारेको यो पहिलो जित हो ।

युनाइटेडका लागि विजयी गोल गरेपछि हइलुन्डले तत्काल संसारकै सबैभन्दा खुसी व्यक्ति आफू भएको प्रतिक्रिया दिएका थिए । तालिकाको छैटौँ स्थानमा रहेको युनाइटेडको १९ खेलबाट ३१ अंक छ । तेस्रो स्थानको भिल्लाको ३९ अंक छ । गएराति नै भएका खेलमा नटिङघम फरेस्टले न्युक्यासललाई ३ – १ ले हराउँदा बर्नमाउथले फुलह्यामलाई ३ – ० गोलले पराजित गर्‍यो । लुटन टाउनले शेफिल्ड युनाइटेडमाथि ३ – २ गोलको जित हात पारेको छ ।

    सम्बन्धित समाचार...