१५ बैशाख २०८१, शनिबार

पक्राउ पुर्जी जारी भएका व्यक्ति बालुवाटारमा बैठकमा !

biplab

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एउटा अचम्मको दृश्य देखियो । अदालतले पक्राउ पुर्जी जारी गरेका व्यक्ति प्रधानमन्त्रीसँग बैठक गरिरहेका थिए । काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेता प्रहरीको बाक्लो सुरक्षा रहने बालुवाटारमा बैठकमा सरिक थिए ।

राज्यविरुद्धको कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतले गत मङ्सिर १८ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेको २४ औँ दिनमा चन्द प्रधानमन्त्री निवास बालुवाटारमा हाजिर भएका हुन् । प्रशासन र प्रहरीको नजरमा फरार सूचीमा रहेका नेकपा महासचिव चन्द लगायत पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा र राजु कार्की विरुद्ध गत मङ्सिरमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । कानुनको कार्यान्वयन हुने स्थिति भइदिएको भए उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिनुपर्थ्यो ।

समाजवादी मोर्चाको बैठकका लागि चन्दसहितका नेतालाई बालुवाटारमा प्रधानमन्त्रीले नै बोलाएका थिए । चन्दले प्रधानमन्त्रीसँग आफूहरूसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने कुरा सह्य नहुने बताएका छन् । सरकारसँगको सहमति र अदालतको पक्राउ पुर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको चन्दको भनाइ छ ।

९ असोज २०७६ मा दायर भएको मुद्दामा उनीहरूमाथि संघीय इकाई तथा विभिन्न जातजाति वा सम्प्रदायहरुबीचको सम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग छ । राजद्रोहको अर्को मुद्दामा उनीहरूमाथि संगठित आपराधिक समूहमा आबद्ध भई विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको आरोप छ ।

जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेलगत्तै नेकपा महासचिव चन्द र पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।