२५ श्रावण २०७७, आईतवार

प्रहरी प्रधान कार्यालय भित्र कोरोना संक्रमित बढ्दै, संक्रमित संख्या ७२

प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ। प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार शुक्रबारसम्म संक्रमितको संख्या ७२ पुगेको हो।

संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालका भर्ना गरिएको उनले जानकारी दिए।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो। संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन्।

‘उहाँहरूमा कसरी सर्‍यो भन्ने खुलेको छैन। फिल्डमा खटिरहनु पर्ने हुन्छ,’ एसएसपी कडायतले भने,’अब यस्तै बाहिर जादाँ कतैबाट सरेको होला तर कहाँबाट भन्न सकिने अवस्था छैन।’

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको उनले जानकारी दिए।

‘चिकित्सकहरूले कन्ट्याक्ट ट्रेसिङ गरिरहनुभएको छ। हिजो बिहान ४४ जनामा देखियो फेरि बेलुकी ५४ पुग्यो आज फेरि बढ्यो,’ उनले भने,’ त्यही कन्ट्याक्ट ट्रेसिङमार्फत् १५-२० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको छ।’

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।