२८ बैशाख २०८१, शुक्रबार

डा.सुरेन्द्र यादव अपहरणमा पर्नुभएको छैन : आफन्त

Surendra yadav

समाजवादी पार्टीले आफ्ना सांसद एवं पूर्वराज्यमन्त्री डा.सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अपहरण गराएको आरोप लगाएको छ ।

तर, उनकै पारिवारका सदस्यहरुले अपहरणको हल्ला गलत भएको बताएका छन् । सांसद डा. यादवकी श्रीमतीले भनिन्, ‘डाक्टर साब १२ बजे घरबाट जनकपुर घरमा निस्कनुभएको हो, उहाँले निस्किदा आज घर नआउन सक्छु भन्नुभएको छ, उहाँ अपहरणमा पर्नुभएको हो जस्तो लाग्दैन ।’

सांसद डा.यादवका भञ्जा राजेश यादवले मामा अपहरणमा नपरेको बताए । उनले भने, मामा (सांसद यादव) अपहरणमा पर्नुभएको छैन, ब्याट्री सकिएर उहाँको मोवाइल अफ भएको छ, उहाँ जनकपुरस्थित घरमै हुनुहुन्छ ।’ डा यादवको महोत्तरी र जनकपुरमा घर रहेको छ ।

तर प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले पूर्व आइजीपी सर्वेन्द्र खनाल र महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले मिलेर अपहरण गराएको आरोप लगाएका छन् ।

एसपी अधिकारीले आफूलाई यसबारेमा केही जानकारी नरहेको प्रतिकृया दिए । रातोपाटीसँग कुरा गर्दै उनले यदि सांसद यादव अपहरणमा परेको भए उनका परिवारले प्रहरीलाई जानकारी गराउँथ्यो, हालसम्म प्रहरीमा त्यस्तो कुनै जानकारी पनि नआएको बताए ।

प्रदेश २ का गृहमन्त्रीले त अपहरणमा तपाईको पनि हात रहेको आरोप लगाएका छन् नि जिज्ञासा राख्दा एसपी अधिकारीले कसले के आरोप लगाउँछन् त्योसँग आफ्नो सरोकार नरहेको प्रतिकृया दिए ।

डा. सुरेन्द्र यादव महोत्तरीको सोनामा धेरै बस्छन् । सो गाउँका वडा अध्यक्ष अशोक यादवले भने, ‘प्रदेश २ का डीआईजीले सांसद डा. सुरेन्द्र यादवलाई उठाएर लग्नुभएको हो । हामीले किन लगेको सोध्दा प्रधानमन्त्री ओलीको विरोध गरेको कारण लगेको भन्नुभएको थियो ।’

डा. सुरेन्द्र यादव स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए । प्रधानमन्त्री अ‍ोलीले बर्खास्त गरेपनि डा. सुरेन्द्र यादव उपेन्द्र यादवको कार्यशैलीबाट सन्तुष्ट थिएनन् । उनी पनि पार्टी फुटाउने पक्षमा थिए ।