१५ चैत्र २०८०, बिहीबार

सुवास नेम्वाङले भने: सांसद अपहरणको यथार्थ छिट्टै आउँछ, शान्तिप्रक्रिया अझै पूरा भएको छैन

Subash Chandra Nembang

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ‘सांसद अपहरण’को यथार्थ छिट्टै आउने बताएका छन् । नेम्वाङले आफ्ना दल कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नरहेको बताएका छन्।

शुक्रबारदेखि सुरु भएको प्रतिनिधिसभाको छैठौं अधिवेशनलाई सम्बोधन गर्दै नेकपा संसदीय दलका उपनेता नेम्वाङले भने,‘नेकपा आपराधिक क्रियाकलापको पक्षमा छैन। ‘सांसद अपहरण’को विषयबारे यही संसदको अधिवेशनमा यथार्थ आउँछ।’

उनले सांसद अपहरणबारे के भएको हो त्यो यथार्थ बाहिर आउने पनि बताए। समाजवादी पार्टी नेपालका सांसद डा सुरेन्द्र यादवलाई पार्टी फुटाउने योजनासहित महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याइएको आरोप नेकपाका सांसद महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्बेन्द्र खनालमाथि लागेको छ। उनीहरूविरुद्ध जाहेरी समेत परेको छ ।

उनीहरुविरुद्ध समाजवादी पार्टीका सांसद यादवले सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता समेत गरेका छन्।

नेकपा संसदीय दलका उपनेता नेम्वाङले संसदको यो अधिवेशनले बजेटसँगसँगै शान्ति प्रक्रियासम्बन्धी बाँकी काम टुंग्याउनुपर्नेमा समेत जोड दिएका छन् ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पुगेको भन्दै उनले भने, ‘यही अधिवेशनबाट शान्ति प्रक्रियालाई सफलतापूर्वक टुंगोमा पुर्‍याएको घोषणा गर्न सक्छौं भन्ने विश्वास छ ।’

नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादीको विवाद कायमै छ भने एकता प्रक्रिया पनि पूरा भएको छैन। पार्टीभित्र विवाद जारी रहेको अवस्थामा नेम्वाङको शन्ति प्रक्रिया सम्बन्धी विषय आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

प्रतिनिधिसभामा उनले भने, ‘शान्तिप्रक्रिया पूरा गर्न थोरै काम बाँकी छ। विधेयक सम्बन्धी कार्य अन्तिममा पुगेको छ। हामीले यही अधिवेशनबाट शान्ति प्रक्रिया टुंगो लाग्छ भन्ने विश्वास गरेका छौं।’

लकडाउन बाध्यताले गर्नुपरेको बताउँदै उनले यसलाई प्रभावकारी ढंगले लागू गर्नुपर्नेमा जोड दिए।