१४ बैशाख २०८१, शुक्रबार

नारायणकाजी श्रेष्ठले भने : अझै पनि कम्युनिष्ट पार्टीहरु बीचको एकता आवश्यक छ

narayan kaji shrestha
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । विदेशी शक्तिका साथै एकताको मर्म नबुझ्ने प्रवृत्तिले एकतामा भाँजो हालेको उनले बताए ।

एमाले र माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकता गरेको भएपनि देशी विदेशी शक्तिको योजनामा फुटाइएको नेता श्रेष्ठको भनाई छ। पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्याउन नसक्नु पनि कमजोरी भएको उनले बताए ।

माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘पार्टी एकता एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई विभाजनमा पु¥यायो भनेर कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ ।’उनले अघि भने, ‘वैचारिक राजनीतिक कार्यदिशालाई सही ढंगले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ ।’

समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन भएको उनले बताए । यद्यपि कम्युनिष्ट पार्टीहरुबीचको एकीकरण गर्न आफूहरुले हिम्मत नहार्ने माओवादी केन्द्रका नेता श्रेष्ठले बताए । ‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ । तर हामी हिम्मत हार्दैनौं,’ उनले भने, ‘कम्युनिष्टहरुले हिम्मत हार्नु हुँदैन । हामीले बाह्य शक्तिहरुको हस्तक्षेपबाट देशको स्वाधीनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्ने ।

नेकपा(माओवादी केन्द्र)ले आफुलाई सांस्कृतिक रुपान्तरण गर्दै कम्युनिष्ट, क्रान्तिकारीहरुसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिहरूसँग पनि संयुक्त मोर्चा गरेर अघि बढ्नेबारे सोचेको नेता श्रेष्ठले बताए ।