१५ बैशाख २०८१, शनिबार

सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले सम्झौता गर्दैन : मन्त्री श्रेष्ठ

Narayan Kagi Shrestha

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने जनाएका छन् ।

काठमाडौंको सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा शुक्रबार सञ्चारकर्मीसँग आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा जुट्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए । प्रधानमन्त्री पुष्पकमल दाहाललका घरबेटीले धेरै सडकको विचल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री श्रेष्ठले नराम्रो गर्ने कोहीलाई कारबाही गर्नसक्ने प्रधानमन्त्रीले नै निर्देशन दिएको जनाए । उनले भने, ‘म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनँ । निरपेक्ष ढंगले काम गर्छु । आवश्यकतालाई जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ । त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडिदिनुहोला । राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा हामी कसैसँग पनि सम्झौता गर्दैनौं ।’

उनले निर्देशन नै आइसकेकाले प्रधानमन्त्रीलाई उक्त कुरामा जोडेर नहेर्न आग्रह पनि गरे । सडकमा समस्या देखिएपछि भाग्ने नभई सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने उनको भनाइ छ । जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको पनि बताए । ‘समस्या देखिएपछि पूरा गर्नुपर्छ । छोड्नुभएन । के सहयोग चाहिन्छ त्यो सम्बन्धित निकायमा प्रस्ताव राखेर काम गर्नुपर्छ । हामी जनतालाई यस्तो सडक दिन सक्दैनौं,’ मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको जनाए । यस किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने उनको सुझाव थियो । सडक कमभन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मसभ्म्भार हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

‘देशभरकै सडकलाई दुरुस्त बनाउने, राम्रोसँग गाडी चललाउने बनाउने, फुटपाथ पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागेका छौं । हामीले कति खाल्डोहरु छन् भनेर नियालिरहेका छौँ । राज्यको दायित्व सबै स्थानीय सरकारदेखि सबै सरकार मिलेर एकीकृत ढंगले काम गर्नुछ । सडकमा खानेपानी, ढल, विद्युत प्राधिकरण, दूर सञ्चारको कामहरु छ, एकीकृत ढंगले अघि बढ्नुपर्छ, सडक कम खनियोस्, खनिएको ठाउँमा सडकका निश्चित जानकारी बिना खन्ने काम नहोस् । खनिएको ठाउँमा पुनःस्थापित गर्ने काम तत्काल होस् भनेर हामीले बैठक गरेका छौं, उनले भने, ‘हामी अहिलेका सबै मिलेर काम गरिरहेका छौं । राजधानीमा सडकको यो अवस्था अनुपयुक्त छ । सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाउँदै छन् ।’

उपप्रधानमन्त्री श्रेष्ठले देशको संघीय राजधानीमा सडकको यस्तो दूरावस्था हुनु राम्रो नभएको बताए । उनले सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि जानकारी दिए ।