१५ बैशाख २०८१, शनिबार

गृहमन्त्रीको परीक्षा शुरु !

narayankaji shrestha
फाइल फोटो

लामो रस्साकस्सी पछि पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्टराई ललिता निवास काण्डको छानविनमा तानिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको संरक्षणपछि अनुसन्धानबाट जोगाइरहेका दुवै पूर्व प्रधानमन्त्रीलाई सर्वोच्च अदालतको आदेशले अनुसन्धानका लागि बाटो खोलेसँगै राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

ललिता निवास जग्गा प्रकरणमा ठूला माछा उम्काउन खोजेको भन्दै पटकपटक सरकारमाथि दबाब बढेको थियो । ठूला माछाबारेको चिन्ता राजनीतिक तहबाट कुनै सुनुवाई भएन । तर, आइतबार सर्वोच्च अदालतको आदेशसँगै ठूला माछामाथि अनुसनधानको ढोका खुलेको छ । सर्वोच्च अदालतल ललिता निवासको सरकारी जग्गा हिनामिनामा सहयोग पुग्ने गरी मन्त्रिपरिषदबाट भएका निर्णयमा संलग्न पदाधिकारीमाथि पनि छानबिन गर्न आदेश दियो ।

यो आदेशसँगै निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री, मन्त्रिपरिषद्को सामाजिक समितिका मन्त्री, मुख्यसचिव र तत्कालीन सचिवसमेत अनुसन्धानको दायरामा आउने भएका छन् । पूर्व प्रधानमन्त्री माधव नेपाल र बााबुराम भट्टराई बचाउन तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाएको आरोप पनि सत्तारुढ दलमाथि छ । स्वयं राणाले नै आफूले फाइल खोल्ने थाहा पाएपछि महाभियोगको प्रस्ताव आएको बताउनु भएको थियो ।

ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । सिआइबीले संगठित अपराध र लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धान थालेको ४० दिन भइसक्यो ।

प्रतिवादीहरूलाई अनुसन्धानका क्रममा प्रश्न सोध्दा आपराधिक संगठन बनाई संगठित भई अपराध गर्नको लागि पिरामिड शैलीमा तह–तह जिम्मेवारीहरू बाँडफाँट गरी उक्त सरकारी जग्गा हिनामिना गरी दुरुपयोग गरेको बयानमा बताएका छन् । तर, त्यस्तो पिरामिड शैलीमा माथिल्लो तहमा रहने निर्णयकर्तातर्फ अनुसन्धान नभएको भन्दै सर्वोच्च अदालतले अनुसन्धानका लागि बाटो खुला गरिदिएको छ । उसो त यो प्रकरणमा मुछिने कसैलाई पनि नछाड्ने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रतिवद्धता छ ।

कसैलाई पनि नछाड्ने बताउँदै आएका गृहमन्त्रीको परीक्षा अब शुरु भएको छ । पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठका नाममा आइतबार पक्राउ पुर्जी जारी भए पनि कोही पक्राउ परेका छैनन् । सर्वोच्चको आदेशपछि पहिलोपटक प्रधानमन्त्री भइसकेकाहरुमाथि छानविनको बाटो खुलेको छ । खुट्टा कमाउँदिन भन्ने गृहमन्त्री श्रेष्ठले खुट्टा कमाउनु हुन्छ वा समाउनुहुन्छ ? छिटै थाहा हुनेछ ।