२३ बैशाख २०८१, आईतवार

उपप्रधानमन्त्री नारायणकाजी, आज सानो आकारको मन्त्रिपरिषद् बन्ने

narayan kaji shrestha
फाइल फोटो

नेकपा माओवादीका उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।

पेरिसडाँडामा सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । राष्ट्रपतिले उपप्रधानमन्त्री नियुक्त गरेपछि आज अपराह्न ४ बजे शीतलनिवासमा हुने प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा उपप्रधानमन्त्रीका रूपमा श्रेष्ठलाई पनि शपथ खुवाउने तयारी छ ।

नेकपा एमालेले पनि सोमबार उपप्रधानमन्त्रीसहित एकजनालाई सरकारमा पठाउने तयारी गरेको स्रोतले बतायो । तर, यसबारे औपचारिक निर्णय गर्न बाँकी रहेको स्रोतले बतायो । नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेललाई पठाउने सम्भावना रहेको एक नेताले जानकारी दिए ।

श्रेष्ठले पाउने मन्त्रालय भने अहिले बानेश्वरमा बस्ने गठबन्धनको बैठकपछि टुंगो लाग्ने माओवादी नेता देवेन्द्र पौडेलले कान्तिपुर टीभीलाई जानकारी दिए ।

मन्त्रीहरूको नाम टुंगो लगाउन अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा गठबन्धन दलको बैठक बस्दै छ । आज सत्ता गठबन्धनमा सहभागी प्रत्येक दलबाट एकजनाका दरले मन्त्री छान्ने तयारी छ ।