८ बैशाख २०८१, शनिबार

साढे २ वर्षपछि गण्डकीमा मुख्यमन्त्री पाउने माओवादीको दाबी

maiost

गण्डकीमा माओवादीले पनि मुख्यमन्त्री दाबी गरेको छ । दलका नेता हरिबहादुर चुमानले साढे २ वर्षपछि मुख्यमन्त्री बन्ने दाबी गरेका हुन् । सुरुमा पनि मुख्यमन्त्री दावी गरेको चुमान अन्ततः मन्त्री मात्रै बनेर सरकारमा गएका छन् । उनले मुख्यमन्त्री खगराज अधिकारीसँगै विना विभागीय मन्त्रीको रुपमा सोमबार सपथ लिएका हुन् । 

चुमानले २ वर्षपछि मुख्यमन्त्री बन्ने तयारीका साथ सरकारमा गएको बताएका छन् । ‘पहिलो पटक एमालेका संसदीय दलका नेतालाई दिने भन्ने निर्णय आएपछि खगराज जी मुख्यमन्त्री बन्नुभएको हो,’ उनले भने, ‘यो भनेकै आलोपालोको कुरा हो । त्यही कुरा आएको छ, अहिले अझै स्पष्ट भएर आएको छ । नेतृत्वले पनि केन्द्रमा आलोपालो भन्ने मानसिकता बनाएको छ ।’ 

चुमानले सरकारलाई सफल बनाउनका लागि दलको नेता जानुपर्छ भनेर आफु सरकारमा गएको दावी गरे । ‘म सरकारमा जाँदा भोली माओवादीलाई पालो आउँदा मुख्यमन्त्री बन्न कुनै बाधा हुँदैन । हाम्रो नेतृत्वसँग सम्पर्क गरिरहेका छौं । उहाँले आलोपालो होइन भन्नुभएको छैन,’ उनी भन्छन्, ‘अरु पनि प्रदेशमा आलोपालोको कुरा भैरहेको छ । त्यसले गर्दा गण्डकीमा पनि आलोपालो स्वभाविक हो ।’ 

चुमानले मुख्यमन्त्रीपछिको प्रमुख मन्त्रालय आफुले पाउने बताएका छन् । ‘हामी संयुक्त मोर्चामा रहेका दलहरुबीच छलफल हुने र नेताहरुले टुंग्याउने कुरा हो । मुख्यमन्त्री पछिको दोश्रो मन्त्रालय स्वभाविक रुपमा हाम्रो भागमा पर्छ,’ चुमान थप्छन्, ‘अहिले १२ मन्त्रालय छ, त्यो घट्दै छ । कति मन्त्रालय बन्छ र संरचना के हुन्छ भन्ने टुंगिएको छैन । तर दोश्रो मन्त्रालय माओवादीको भागमा पर्छ ।’ उनका अनुसार अर्थ वा भौतिक मध्ये १ मन्त्रालय रोजेर माओवादीले पाउने छ ।