१४ बैशाख २०८१, शुक्रबार

अपराह्न माओवादीको पदाधिकारी बैठक बस्दै, आसन्न राष्ट्रपति निर्वाचनको विषयमा छलफल हुने

MaoPadadhikariMeeting 1675147799
फाइल फोटो

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले जानकारी दिए ।

बैठकमा आसन्न राष्ट्रपति निर्वाचनको विषयमा छलफल हुनेछ । राष्ट्रपति निर्वाचन मिति नजिकिँदै जाँदा सत्ता गठबन्धनमा खटपट बढ्दै गएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस माओवादीलाई फकाएर नयाँ समीकरणको प्रयासमा जुटेको छ ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनु पर्ने जोड दिँदै आएका छन् । यता सत्ता घटक नेकपा एमालेले भने पूर्वसहमतिअनुसार राष्ट्रपति आफूले पाउनु पर्ने अडान लिँदै आएको छ ।

राष्ट्रपतिको उम्मेदवारका विषयमा चर्चा भइरहेको अवस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरु प्रधानमन्त्री दाहाललाई भेट्न आइतबार साँझ बालुवाटार पुगेका थिए । उक्त भेटवार्तामा कांग्रेसले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न गरेको आग्रहमा प्रधानमन्त्री दाहाल सकारात्मक देखिएको स्रोतको भनाइ छ ।

कांग्रेसले गरेको आग्रह र राष्ट्रपतिको विषयमा माओवादीले आजको पदाधिकारी बैठकमा छलफल गर्न लागेको हो ।

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अहिलेको सत्ता समीकरण बनेकै बेलामा राष्ट्रपतिमा सहमति जुटिसकेकाले एमालेले पाउने दाबी गर्दै आएका छन् । आइतबार विराटनगर पुगेका ओलीले यो सत्ता समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै एमालेबाट राष्ट्रपति लेखेर आएको जिकिर गरेका थिए ।

माओवादीले राष्ट्रिय सहमतिमा जोड दिँदै कांग्रेससँगको निकटता बढाउन खोजेपछि भने एमाले सशंकित बनेको छ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।