१७ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री दाहालले भने- हस्तकला उद्योग मौलिक क्षेत्र हो, सातै प्रदेशमा विस्तार गर्छौं

pm dahal

प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले सातवटै प्रदेशमा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

ललितपुरमा शुक्रबार आयोजना गरिएको नेपाल हस्तकला महासंघको ४२औं वार्षिक साधारणसभामा उनले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको जनाए । ‘हस्तकला नेपालका लागि अर्ग्यानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो,’ उनले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र विस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्न प्रतिबद्ध छ ।’

हस्तकला क्षेत्र राम्रोसँग प्रवर्द्धन गर्नसके देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउनसक्ने र विदेशी मुद्राको सञ्चिति बढाउन मद्दत पुग्नेमा विश्वास व्यक्त गरे । ‘निजी क्षेत्रलाई विश्वासमा नलिईकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन । मैले क्याबिनेटको पहिलो बैठकबाटै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु। सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसदको सम्बोधनमा पनि त्यो कुरा प्रस्ट राखेको छु ।’

यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा आफू रहेको दाहालले जनाए । ‘यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु,’ दाहालले भने, ‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु । यो मेरा लागि परीक्षा पनि हो । म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ।’ निर्वाचनले दलहरुलाई मिलेर जाने जनमत दिएको उनको भनाइ छ । उनले कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले नदिएको जनाए । दलहरु इमानदार भएर जनताका पक्षमा राम्रो काम नगरे परीक्षामा चुक्ने भन्दै सचेत पनि गराए ।

उनले हस्तकला व्यवसाय प्रवर्द्धनका लागि पाठ्यक्रममै केही विषय राख्नु राम्रो हुने जनाए । ‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ। यसकारण पाठ्यक्रममै हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छु,’ उनले भने । प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तन भइसकेको र अब आर्थिक क्रान्ति, आर्थिक समृद्धिमा रुपान्तरण गर्नुपर्नेमा आफू प्रयत्नशील रहने प्रतिबद्धता पनि जनाए ।

साधारणसभामा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवर्द्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।