१५ बैशाख २०८१, शनिबार

गोकुल बाँस्कोटा भन्छन्- प्रचण्डले गौर हत्याकाण्डका पीडितलाई न्याय दिने सम्झौता गरेर सत्तामा आफुलाई मजबुत पारे

gokul baskota
फाइल फोटो

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले गौर हत्याकाण्डको विषयमा दोहोरो रुप देखाएको आरोप लगाएका छन् ।

गौर हत्याकाण्डका पीडितहरुसँग यसअघि सरकारले पाँच बुँदे सहमति गरेको थियो । तर, त्यसको एक साता बित्न नपाउँदै सत्ता गठबन्धनको बैठक राखेर गौर हत्याकाण्डको फाइल नखोल्ने निर्णय गरेको भन्दै पीडितहरु प्रचण्डसँग आक्रोशित बनेका छन् ।

गौर हत्याकाण्डको पछिल्लो आन्दोलन र सहमतिबारे एमाले बोलेको थिएन । तर, सहमति गरेर पनि अनुसन्धान अघि नबढाउने सत्ता गठबन्धनको निर्णय आएपछि भने एमाले नेता बाँस्कोटाले मुख खोलेका छन् । उनले सोबारे आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई अब के गर्छौ भनेर प्रश्न गरेका छन् । साहले भने पीडितहरुले न्याय पाउनुपर्ने भन्दै निरन्तर साथ दिँदै आएका छन्।

नेता बास्कोटाले फेशबुकमा लेखेका छन्– प्रचण्ड न परे एउटा रुप देखाएर गौर हत्या काण्डका पीडितलाई न्याय दिने सम्झौता गरे अर्को रुप देखाएर सत्तामा उपेन्द्रको साथ लिएर आफुलाई मजबुत पारे।मर्ने मरिहाले बाच्नेलाई किन न्याय चाहियो?हे !प्रभु साह अब के गर्छौ? प्रचण्डसंग अर्को सम्झौता त होला?कांग्रेस पनि गल्फकन्ट्री भिषामै चुप!