२२ बैशाख २०८१, शनिबार

राष्ट्रपति पौडेल र केपी ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

ramchndra oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । 

आजको भेटमा राष्ट्रपति पौडेलले नेकपा एमालेले गरिरहेको सदन अवरुद्धलाई लिएर चासो देखाएको स्रोतले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले विश्वासको वातावरण बनाएर संसदमा प्रतिनिधित्व गर्ने सबै दल अगाडि बढ्न सुझाव दिए ।

ओलीले भने पौडेललको स्वास्थ्य अवस्थाबारे चासो राखेको पोखरेलको भनाइ छ ।

गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो सुनलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै साउन १० गतेदेखि सदन अवरुद्ध गरिरहेको छ ।

गत साउन २६ गते राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शितल निवासमै छलफल गरेका थिए।

राष्ट्रपति पौडेलले साउन २५ गते प्रधानमन्त्री दाहालसँग शितल निवासमै भेटवार्ता गरेका थिए। लगातार संसद अवरोध हुँदा जनताका कुरा सांसदहरूले सदनमा राख्न नपाएको विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राखेका थिए।

    सम्बन्धित समाचार...