४ बैशाख २०८१, मंगलवार

गोप्य कागजपत्र भेटियो राष्ट्रपतिनिवासमा, छानबिन गर्दै न्याय मन्त्रालय

biden

अमेरिकी राष्ट्रपति जो बाइडेनको निजी निवास र पूर्वकार्यालयमा संवेदनशील सरकारी गोप्य कागजपत्र फेला परेको विषयमा अनुसन्धान गर्न विशेष अभियोजक नियुक्त गरिएको छ ।

फेला परेका ती कागजात तत्कालीन राष्ट्रपति बराक ओबामाको कार्यकालमा बाइडेन उपराष्ट्रपति रहेका बेलाका हुन् । बाइडेन सन् २००९ देखि २०१७ सम्म गरी दुई कार्यकाल ओबामाको उपराष्ट्रपति रहेका थिए ।

ती सरकारी कागजपत्र कसरी त्यहाँ पुगे भन्ने विषयमा अनुसन्धान गर्न बाइडेन प्रशासनले नै विशेष अभियोजक नियुक्त गरेको हो ।

महान्यायाधिवक्ता मेरिक गारल्यान्डले न्याय मन्त्रालयका एक वरिष्ठ पूर्वअधिकृत रोबर्ट हरलाई विशेष अभियोजक नियुक्त गरेका हुन् । हरले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा संघीय अभियोजनकर्ताका रुपमा कार्य गरेका थिए ।

बाइडेनको डेलावेयर राज्यको विलमिङ्गटनस्थित पूरानो घरको ग्यारेज र सँगैको कोठामा वगीकृत लेखिएका दुईवटा कागजपत्र फेला परेका हुन् । तर रेहोबेट बिचस्थित अर्को घरमा भने त्यस्तो कुनै दस्ताबेज फेला नपरेको हृवाइट हाउसले जनाएको छ ।

गत नोभेम्बरमा पनि बाइडेनको वासिंटनस्थित पूर्वकार्यालयमा १० थान सरकारी गोप्य दस्ताबेजका फाइल फेला परेको थियो । बाइडेन प्रशासनले ती कागजपत्र फेला पर्नेबित्तिकै राष्ट्रिय संग्रहालयलाई बुझाए पनि गोप्य कागजको संरक्षणमा देखिएको लापरबाहीले हृवाइट हाउस आलोचित भएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पले हजारौं वर्गीकृत सरकारी कागज आफनो निजी निवासमा लगेर राखेको विषयलाई लिएर न्यायमन्त्रालयले भिन्नै छानबिन गरिरहेको छ । बाइडेनले गोप्य कागजातमा गरेको लापरबाहीले उनको प्रतिष्ठामा आँच पुर्याउन सक्ने आशंका गरिएको छ ।