१ जेष्ठ २०८१, मंगलवार

यस्तो छ सातै प्रदेशका मुख्यमन्त्रीको राजनीतिक योगदान !

chife minister all nepal
बायाँबाट क्रमश हिक्मतकुमार कार्की, सरोजकुमार यादव, शालिकराम जमकट्टेल, खगराज अधिकारी, लीला गिरी, राजकुमार शर्मा, राजेन्द्रसिंह रावल

मुलुक संघीय संरचनामा गइसकेपछि दोस्रोपटक सातै प्रदेशमा मुख्यमन्त्री चुनिएका छन् । केन्द्रमा बनेको नयाँ समीकरणअनुसारै नेकपा एमाले, माओवादी र जसपाबीच मुख्यमन्त्रीको भागबन्डा भएको छ ।

एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मुख्यमन्त्री पाएको छ भने माओवादीले वाग्मती र कर्णालीमा पाएको छ । जसपाले मधेसमा मुख्यमन्त्री पाएको छ । सातै प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीहरु कस्ता छन् त ?

प्रदेश १ – हिक्मतकुमार कार्की

अनेरास्ववियूका पूर्वकेन्द्रीय अध्यक्ष एवं एमालेका स्थायी कमिटी सदस्य ५८ वर्षीय हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री बनेका छन् । २०२१ साल असोजमा झापाको गौरादहमा जन्मिएका कार्कीले कानुनमा स्नातकोत्तर गरेका छन् । कार्कीले यसअघि प्रदेश एकको मन्त्रीको अनुभव सँगालेका छन् । उनी माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । तर, मुख्यमन्त्री आलोपालो गर्नुपर्छ भन्दै असन्तुष्टि जनाएको माओवादीलाई समेट्ने चुनौती उनीसामु छ । अघिल्लो प्रदेशसभाले नाम जुराउन नसकेको प्रदेशको न्वारन गर्नुपर्ने दायित्व पनि कार्कीको काँधमा छ ।

मधेस प्रदेश – सरोजकुमार यादव

मधेस प्रदेशका निवर्तमान सभामुखसमेत रहेका सरोजकुमार यादव यसअघि दुईपटक संघीय राज्यमन्त्री बनिसकेका छन् । मधेसको सम्पन्न परिवारमा जन्मिएका यादवले प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । बाराबाट प्रदेशसभामा निर्वाचित यादव २०२८ सालमा सिमरौनगढमा जन्मिएका हुन् । गजेन्द्रनारायण सिंहको सद्‌भावना पार्टीबाट राजनीति सुरु गरेका यादव गाविस अध्यक्ष हुँदै २०६४ सालको पहिलो संविधानसभामा बारा-१ बाट निर्वाचित भए । उनले संघमा स्वास्थ्य राज्यमन्त्रीको अनुभवसमेत सम्हालेका छन् । मिलीजुली सरकारको मुख्यमन्त्री भएकाले गठबन्धनमा आबद्ध दललाई सन्तुष्ट बनाउादै काम गर्नुपर्ने चुनौती यादवलाई छ ।

वाग्मती प्रदेश – शालिकराम जमकट्टेल

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त माओवादी निकट ट्रेड युनियन महासंघका पूर्वअध्यक्ष शालिकराम जमकट्टेलले २०४७ सालमा ललितपुरको काभ्रे आइरन उद्योगमा काम गरे । उनले माओवादीबाट २०६३ सालमा अन्तरिम विधायकका रूपमा संसदीय यात्रा थालेका हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा धादिङ ३ बाट विजयी बनेका जमकट्टेल २०७४ पछि वाग्मती प्रदेशमा ४२ महिना आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । अहिले गठबन्धनबाट मुख्यमन्त्री बनेका उनलाई नेताहरुको व्यवस्थापन मुख्य चुनौती छ ।

गण्डकी प्रदेश – खगराज अधिकारी

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी २०१८ सालमा कास्कीको वेगनासमा जन्मिएका हुन् । २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति बनेका उनी २०५१ सालमा कास्की १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । २०७४ मा कास्कीबाटै निर्वाचित अधिकारी एमालेको प्रमुख सचेतक हुँदै संघीय सरकारको स्वास्थ्यमन्त्री बनिसकेका छन् । अधिकारीसँग ०७८ सालमा गृहमन्त्री बनेको अनुभव पनि छ ।

लुम्बिनी प्रदेश – लीला गिरी

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बनेका एमाले पोलिटब्युरो सदस्य लीला गिरी गाविस अध्यक्ष हुँदै २०७४ सालमा लुम्बिनी सरकारको मन्त्री बनेका थिए । २०११ चैतमा गुल्मीमा जन्मेका ६८ वर्षीय गिरीले स्नातकसम्म अध्ययन गरेका छन् । पूरा कार्यकाल मुख्यमन्त्री चलाउने केन्द्रको सहमतिअुनसार एमालेको भागमा परेको लुम्बिनीमा माओवादीले आलोपालोको अडान लिइरहेको छ । यस्तो चुनौतीबीच गिरीले कसरी मिलिजुली सरकार कसरी टिकाउलान् भन्ने चासो बनेको छ ।

कर्णाली प्रदेश – राजकुमार शर्मा

नेकपा माओवादी केन्द्रको भागमा परेको कर्णालीको मुख्यमन्त्री रुकुम पश्चिमका राजकुमार शर्मा बनेका छन् । सशस्त्र संघर्षको राजनीति पृष्ठभूमि भएका शर्माले द्वन्द्वकालमा पार्टीका विभिन्न पदमा रहेर काम गरेका छन् । संसदीय अभ्यास भने उनका लागि नौलो हो । उनी हाल माओवादी पार्टीको पोलिटब्युरो सदस्य हुन् ।

सुदूरपश्चिम प्रदेश – राजेन्द्रसिंह रावल

सुदूरपश्चिम प्रदेशले पनि दोस्रो मुख्यमन्त्रीमा एमाले नेता राजेन्द्रसिंह रावललाई पाएको छ । २०२१ सालमा बैतडीमा जन्मिएर कञ्चनपुर बसाइँ सरेका रावल शिक्षक, जिविस सभापति हुँदै सुदूरपश्चिमको मुख्यमन्त्री बन्न सफल भएका छन् । प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरेका रावलले साहित्यकारको परिचय पनि बनाएका छन् । उनी एमालेको पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी सह-इन्चार्ज हुन् ।