Close Me
२१ मंसिर २०८१, शुक्रबार

शुक्रबारसम्म विश्वासको मत लिनै पर्ने बाध्यतामा सोडारी

dirga sodari

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबारसम्म विश्वासको मत लिनै पर्ने भएको छ ।

त्यसका लागि मुख्यमन्त्री सोडारीले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहलसँगको छलफलपछि जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने उनको यो तेस्रो प्रयास हो । यसअघि मुख्यमन्त्री सोडारीले वैशाख २१ र २२ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाएका थिए ।

एमालेले तत्काल विश्वासको मत दिन नसकिने अडान लिएपछि बैठक अनिश्चित समयका लागि स्थगित गरिएको थियो । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले शीर्ष नेतृत्वसँग भएको छलफलपछि जेठ ३ गते विश्वासको मत लिन लागिएको जानकारी दिए । तर, एमालेले भने अझै विश्वासको मत दिने नदिने निर्णय भई नसकेको जनाएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रधानमन्त्री वा अन्य कुनै दलको नेताले भन्दैमा आफूहरूले विश्वासको मत नदिने बताए । सरकारको न्यूनतम साझा कार्यक्रम र मन्त्रालय भागबन्डा लगायत विषयमा अहिलेसम्म कुनै छलफल नभएको एमालेले जनाएको छ । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनु भएका एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

यसैबीच सत्तारुढ अर्को दल माओवादीभित्र पनि विवाद बढेको छ । संसदीय दलको नेताबाट हटाइएपछि असन्तुष्ट बन्नु भएका खगराज भट्टसहतिका केही प्रदेशसभा सदस्य दलको बैठकमा समेत उपस्थित भएका छैनन् ।

नागरिक उन्मुक्तिभित्रको विवाद पनि समाधान नहुँदा नाउपाका ५ प्रदेशसभा सदस्य सरकारको विपक्षमा छन् भने २ जना सरकारमा सहभागी भएका छन् ।