आगामी जेठ १० गते प्रदर्शनमा आउन लागेको फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक भएपछि नायक पल शाहको भूमिकालाई लिएर चर्चा भइरहेको छ ।
ट्रेलरमा पल शाहलाई थोरै देखाइएपछि उनको भूमिका पनि फिल्ममा कम छ कि भन्ने चर्चा भइरहेको छ । पलका फ्यानहरूले पनि भूमिका थोरै भएको भन्दै गुनासो गरिरहेका छन् । ट्रेलरमा उनलाई अर्का दुई अभिनेता आर्यन सिग्देल र प्रदीप खड्काको तुलनामा कम ‘स्क्रिन स्पेश’ मिलेको छ ।
यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि नायक प्रदीप खड्काको कामको तारिफ बढी भएको छ । ट्रेलरमा प्रदीप नै हाबी छन् । आफ्नो भूमिकाको विषयमा गुनासो धेरै आएपछि नायक पल शाहले स्पष्टीकरण नै दिएका छन् ।
फिल्म ‘रावायण’को छायांकनमा रहेका पल शाहले लेखेका छन्, ‘पुजार सार्कीमा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रष्ट पार्न चाहन्छु कि यो फिल्ममा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्त्वपूर्ण भूमिका भने छ । निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ ।’
उनले, फिल्ममा आफ्नो भूमिकाबारे चासो राख्ने सबैलाई जेठ १० मा फिल्म हेर्न पनि आग्रह गरेका छन् ।
दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । फिल्मले जातीयताको कथालाई उठान गरेको निर्माण पक्षले बताएको छ ।
फिल्ममा तीन नायकसँग अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ । मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता सुभाष भुसाल हुन् ।