१४ बैशाख २०८१, शुक्रबार

चारपटक प्रधानमन्त्री हुँदाका कमजोरी सच्याउनुस्: राजेन्द्र लिङ्देन

rajendra lingden
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेर बहादुर देउवालाई चारपटक प्रधानमन्त्री हुँदा भएका कमजोरीलाई सच्याउन आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् लिङ्देनले वर्तमान प्रधानमन्त्रीसँग चारपटक प्रधानमन्त्री भइसकेको अनुभव भएकाले, उक्त कार्यकालमा गरेका कमजोरीलाई सुधार गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा लिङ्देनले भने,“यो सरकारसँग ठूलो आशा गरेका छैनौँ । स–साना कुरामा सुधार गरे पुग्छ ।” उनले देश प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बाटोमा नजाँदासम्म अस्थिरतामात्र आइराख्ने बताए ।

पार्टीको बैठक बालुवाटारमा नगर्ने निर्णय गरेर सुखद् सुरुवात गरेको भन्दै उनले अघि भने,“आज पनि धेरै माग्ने कुरा छैन, सुशासन दिनुस्, नराम्रो नभन्नुस् ।” साथै उनले नयाँ आएको सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गर्न पनि सुझाव दिए ।