१४ बैशाख २०८१, शुक्रबार

तीन मन्त्रालय राप्रपाको भागमा, लिङ्देन उपप्रधान तथा उर्जामन्त्री

Rajendra Lingden
फाइल फोटो

सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छन् । भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ ।

स्रोतका अनुसार सत्ता गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने छ । माओवादी केन्द्रले ४ मन्त्रालय लिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३/३ वटा मन्त्रालय पाउने भएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाउनेछन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा जाने भएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ, जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको छ ।

स्रोतका अनुसार राप्रपाले उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् ।

अरु दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लागेको छैन । अध्यक्ष लिङ्देनले पार्टीका नेताहरुसँग परामर्श गरेर मन्त्रीको टुंगो लगाउने छन् ।