१३ बैशाख २०८१, बिहीबार

राजेन्द्र लिङ्देन भन्छन्- राप्रपा केपी ओलीको पुच्छर त होइन नि ?

kp oli rajendra

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार ढाल्ने र बनाउने गोलचक्करमा नलागेको बताएका छन् ।

‘देशले थप अस्थिरता बेहोर्न सक्दैन । राप्रपा अस्थिरताको कारण पनि बन्दैन । पाँच वर्ष स्थिरता दिनुपर्छ भनेर अघिल्लो चोटि सरकारमै गएका हौं । अस्थिरताको सहयोगी बन्न हामीलाई कुनै हतार छैन । हाम्रो प्राथमिकताको विषय पनि होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै लिङ्देनले भने ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त सरकारको विकल्प खोज्न लागिरहनुभएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘नेकपा एमालेसँग कुनै बिन्दुमा सहकार्य भयो होला, तर सधैं गर्नुपर्छ भन्ने छैन । नेकपा एमालेले के भन्छ, त्यो उसको कुरा हो । राप्रपा केपी ओलीजीको पुच्छर त होइन नि । हाम्रो पार्टी प्रतिपक्षमा छ । गलतको कामको विरुद्ध छौं, निरन्तर खबरदारी गरिरहन्छौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने कुरा आफूलाई थाहा नभएको पनि उनले बताए । लिङ्देनले थपे, ‘ककसले के प्रस्ताव राखेका छन् ? मलाई थाहा भएन । रविजीलाई प्रधानमन्त्री बनाउने कुरा पनि थाहा छैन । हामीले त्यस्तो कल्पना गरेका छैनौं ।’ सरकारले कार्यशैलीले देश झन् ओरालो लाग्ने निश्चित भएको उनले बताए ।

एमाले अध्यक्ष ओलीले अभिभावकीय रुपमा राजसंस्था चाहिन्छ भन्ने जनतालाई फटाहा, अज्ञानी र मूर्ख भनेकामा पनि लिङ्देनले आपत्ति जनाए । उनले भने, ‘हामीलाई फटाहा, अज्ञानी र मूर्ख भन्ने हो भने त जापान, नर्वे, बेलायतलगायत मुलुकका जनता त झन् महामूर्ख रहेछन् । उहाँ यस्तो ज्ञान र बुद्धि कहाँबाट प्राप्त गर्नुहुन्छ ? थाहा छैन । अहिलेको अवस्था भन्दा अभिभावकीय राजसंस्था राम्रो हुन्छ, कम खर्चिलो हुन्छ । त्यसका निम्ति हामी एकपटक होइन, हजारपटक फटाहा र मूर्ख हुन तयार छौं ।’

जनतालाई विकल्प स्वरुप नवीन राप्रपा दिन आफूहरु तयार भएको पनि उनले बताए । मुलुकको निकासका लागि नयाँ राष्ट्रिय सहमति कायम गरेर जानुपर्ने आवश्यकता पनि लिङ्देनले औंल्याए ।