२३ बैशाख २०८१, आईतवार

प्रधानमन्त्रीमा रवि लामिछानेलाई पत्याउने स्थिति छैन : लोसपा नेता झा

keshav jha

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिलाई अस्थिर बनाउने अवसर खोजिरहेको आरोप लगाएका छन् ।

‘ओलीजीले सत्तापक्षलाई गाली गर्नुभन्दा बढी केही गर्नुभएको छैन । उहाँमा सत्ता गुमाउनुपरेको कुण्ठा छ । उहाँले मुलुकलाई उपलब्धिमुलक हुने गरी विपक्षीको धर्म निर्वाह गर्नुभएको भए राम्रो हुन्थ्यो । अर्थतन्त्रको संकट रातारात आएको होइन । साढे तीन वर्ष उहाँ प्रधानमन्त्री हुँदा गरेका उल्टो उल्टो कामको पनि परिणाम हो । उहाँ राजनीतिलाई अस्थिर बनाउने अवसर खोजिरहनुभएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै झाले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन सम्भव नभएको पनि उनले औंल्याए । झाले थपे, ‘ओलीजीले हुने कुरा गर्नुहुन्न, नहुने कुरा गरिरहनुहुन्छ । अहिले रविजीलाई प्रधानमन्त्री दिने स्थिति बनिसकेको छैन । जनताले जिताएर पठाइसकेपछि हामीले सम्मान गर्नैपर्छ । तर उहाँको ६ महिने गतिविधिले राजनीतिलाई ट्रयाकमा ल्याउन सक्नुहोला जस्तो देखिँदैन ।’

भिजनलेस र पपुलिजम वाला कुराले रविलाई धेरै अगाडि नलाने उनको जिकिर छ । कांग्रेस र एमालेभित्रको प्रभुत्ववादले आन्तरिक लोकतन्त्र कमजोर हुँदा नयाँ पार्टीलाई अवसर मिलेको उनको धारणा छ ।

लोसपाले सरकार परिवर्तनको पक्षमा नरहेको पनि उनले बताए । स्थिर सरकारले मात्र विकास र समृद्धि दिन सक्ने उनले औंल्याए । अब जसपा र लोसपाबीच एकताको वातावरण बन्ला भन्ने पत्रकार धमलाको प्रश्नमा झाले भने, ‘विगतमा जसपासँग एकता गरेकै हो नि । भावनात्मक किसिमले एकता गर्दा दुर्घटना निम्तियो । हाम्रा केही मुद्दा मिल्छन् । तर विचार र सिद्धान्त मिल्दैनन् । मुद्दा मात्र मिल्दा कार्यगत एकता, मोर्चा, वा गठबन्धन हुन सक्छ । त्यसमा जसपामात्र नभएर जनमत र नागरिक उन्मुक्ति पार्टीलाई पनि समेट्ने हाम्रो कोसिस छ ।’

    सम्बन्धित समाचार...