२५ बैशाख २०८१, मंगलवार

गजुरेलको नेम्वाङलाई जबाफ : नेपाली जनता बेवकुफ छैनन्

Haribol Gajurel

नेकपा (माओवादी केन्द्र)का नेता एवम् प्रतिनिधिसभा सदस्य हरिबोल गजुरेलले अदालत जानुपर्ने स्थितिको सिर्जना राजनीतिक दलहरुले नै गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेता गजुरेलले राजनीतिक दलहरुले राजनीतिक विषय समाधान नगरेकाले अदालतमा जानुपर्ने अवस्था आएको बताए । आफैँले बनाएको संविधानको व्यख्या आफैँले गर्नुपर्ने भए पनि राजनीतिक दलहरु अदालत जानु राम्रो विषय नभएको उनको भनाइ छ ।

गजुरेलले दुईपटक प्रतिनिधिसभा संसद् विघटन गर्ने बेलामा कोसँग सरसल्लाह र सहमति गरियो भन्दै प्रश्न गरे । तत्कालीन नेकपामा देखिएको विवादको प्रशंग निकाल्दै गजुरेलले केपी शर्मा ओली पक्षलाई कटाक्ष गरेका छन् । आजै प्रतिनिधिसभामा बोलेका सुवासचन्द्र नेम्वाङको भनाइलाई लक्षित गरेर गजुरेलले जे पनि गर्नका लागि नेपाली जनता बेवकूफ नरहेको बताए ।

“अनुशासन सबैभन्दा माथि भएकाले पालना गर्नुपर्छ । आफू अनुशासन पालन नगर्ने, सबैलाई बेवास्ता गर्ने अलि ठूला–ठूला कुरा गरेर हुन्छ ? नेपाली जनता बेवकुफ छैनन्,” उनले अगाडि भने,“पार्टीले निर्वाचित गरेको प्रधानमन्त्री, पार्टीले उम्मेदवारी दिएर गठबन्धनले जिम्मेवारी दिएर निर्वाचित भएको प्रधानमन्त्रीले पार्टीमा छलफल नै नगरिकन, संसदीय दलमा छफफल नै नगरिकन संसद् विधटन गर्नु के दलीय प्रणालीको विशेषता हो ? अनुशासन यही हो ?”

नेता गजुरेलले देउवाको कार्यकालमा ट्रयाकबाहिर गएको कार्यशैलीलाई सुधार गरी कोभिडविरुद्धको खोप, भ्रष्टाचार र अन्य समस्याबाट जनतालाई मुक्ति दिलाउनसमेत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।

Share this: