६ जेष्ठ २०८१, आईतवार

जिन्दगी कसरी जिउँदा हरेक पलमा खुसी मिल्छ ?

sucess 4

अहिलेका युवाको जीवनको सबैभन्दा ठूलो लक्ष्य धनी बन्ने देखिन्छ । यस्तोमा ७०–८० प्रतिशत युवाहरू धनी बन्न चाहन्छन् भने ५० प्रतिशतभन्दा बढी युवा प्रसिद्ध बन्न चाहन्छन् । पैसा वा नाम कमाएर मात्र कसरी खुसी हुन सकिन्छ ?

७५ वर्षसम्म चलेको अध्ययनको निष्कर्ष छ- सम्बन्ध जोड्नु जीवनको सबैभन्दा ठूलो लक्ष्य हुनुपर्छ । असल र राम्रो सम्बन्ध नै खुसीको कारक हो ।

अधिकतम धन र सफलता प्राप्त गर्न दिनरात कडा परिश्रम गर्न सिकाइन्छ । हामीलाई लाग्छ कि यसबाट मात्र जीवन राम्रो हुन्छ । तर यसको पछाडि दौडिरहँदा हामी सम्बन्धमा लगानी गर्न पछाडि पर्छौं । जब हामी बूढो हुँदै जान्छौं तब हामीले महसुस हुन्छ कि धन र सफलताको पछि लाग्दालाग्दै जीवन त फिक्का भएछ भनेर ।

हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्ट मानव जीवनमा गरिएको सबैभन्दा लामो अध्ययन हो, जसमा ७५ वर्षसम्म ७२४ व्यक्तिको जीवन अध्ययन गरिएको थियो । यसमा उनीहरूको काम, जीवन, स्वास्थ्य र सबै विषयको अभिलेख राखिएको थियो । शोधकर्ताहरूले धेरै वर्ष र धेरै मानिसको अध्ययनमा पत्ता लगाएका छन् कि राम्रो सम्बन्धले हामीलाई खुसी र स्वस्थ राख्छ । सामाजिक सम्बन्ध हाम्रो लागि धेरै महत्त्वपूर्ण छ । परिवार, साथीभाइ र समुदायसँग सामाजिक रूपमा राम्रोसँग जोडिएका व्यक्ति खुसी हुने र उनीहरूको स्वास्थ्य पनि अरूको तुलनामा राम्रो हुने अध्ययनले देखाएको छ ।

एक्लै बस्दाको नतिजा भने निकै नराम्रो देखियो । उनीहरूको स्वास्थ्य मध्यजीवनमा बिग्रन थाल्छ र मस्तिष्कले पनि बेलाबेलामा काम गर्न छाडेको देखियो ।

अध्ययनमा बाहिर आएको दोस्रो सबैभन्दा ठूलो कुरा यो हो कि तपाईंको कति जना साथी छन् भन्दा पनि मित्रता वा सम्बन्ध रहेका व्यक्तिमध्ये कति जना नजिक भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यदि वैवाहिक जीवनमा धेरै भ्रम छ र त्यसमा प्रेम छैन भने यो स्वास्थ्यका लागि धेरै हानिकारक सावित हुन्छ । सम्बन्धको बारेमा सुरक्षित महसुस गर्नुहुन्छ, आफ्नो मनका कुरा पार्टनरलाई खुलेर भन्न सक्नुहुन्छ, विश्वास गर्नुहुन्छ भने मानसिक रूपमा पनि स्वस्थ हुनुहुन्छ । यसको अर्थ हाम्रो स्वास्थ्य र खुसीको लागि असल र विश्वासिलो सम्बन्ध आवश्यक छ ।

विश्वास गर्न सक्ने व्यक्ति भेटाउन भने गाह्रो छ

अब कुरा गरौं, आजको सम्बन्धसँग सम्बन्धित यथार्थको । सम्बन्ध तब मात्र बलियो हुन्छ जब हामीले आफ्नो मनमा रहेको हरेक कुरालाई कुनै डर वा हिच्किचाहट बिना अर्को व्यक्तिसँग बाँड्न सक्छौं । तर अहिले यस्तो विश्वास गर्ने व्यक्ति भेट्न गाह्रो छ ।

अहिले श्रीमानले श्रीमतीको हत्या गरिरहेका छन्, दाजुले भाइको, भाइले दाजुको, छोराले बाबुको हत्या गरिरहेका छन् । एक अर्काभन्दा अगाडि पुग्ने प्रयासमा नैतिकतालाई पन्छाएर मान्छेहरू अगाडि बढिरहेका छन् । त्यसैले त झुट र स्वार्थको बजार फस्टाएको छ । यो जमानामा आँखा चिम्लिएर विश्वास गर्न सक्ने व्यक्ति खोज्न सजिलो छैन ।

कुनै कुरा गोप्य रहँदैन

यदि तपाईंले आफ्नो सबै कुरा खुलेर बताउन सक्ने कोही भेटिहाल्नु भयो भने पनि सजक हुनुपर्छ । आजको समयमा कुनै पनि कुरा गोप्य रहँदैन । मोबाइल मार्फत हरेक सानो कुरा, च्याट, यात्रा विवरण, सौख, क्रेडिट कार्ड, फोटो, गुगल खोज, डाइल गरिएको नम्बर र लेनदेनहरू पनि सबै निगरानी हुन्छ । कुनै पनि काम वा कुराकानी लुक्दैन ।

पहिलो पटक नयाँ स्मार्ट फोन सेटअप गर्दा तपाईंसँग धेरै अनुमति लिइन्छ । फोनलाई आफ्नो गुगल खाताबाट लगइन गर्नुपर्ने हुन्छ र यहाँबाट गुगलले तपाईंको डाटा संकलन गर्न थाल्छ । धेरै सेटिङहरू फोनमा पूर्वनिर्धारित रूपमा नै हुन्छन्, जसले हरेक पल निगरानी गर्छ । तपाईं कहिले र कहाँ जानुभयो, के खोज्नुभयो, गुगलले यसको पूरा रेकर्ड पनि राख्छ । यसरी संकलन गरिएको डाटा प्रयोगकर्तालाई राम्रो अनुभव प्रदान गर्न सान्दर्भिक विज्ञापनहरू देखाउन प्रयोग गरिन्छ ।

त्यसैगरी कसैलाई पनि विश्वास गर्न गाह्रो भएको छ । त्यसैले कसैसँग नजिक हुनु वा मन खोल्नुअघि पचास पटक सोच्नुपर्छ । आत्मीयता बढाउन कसैलाई आँखा चिम्लिएर विश्वास नगर्नु राम्रो हुन्छ । कोही जतिसुकै प्यारो किन नहोस्, कमसेकम त्यो व्यक्तिबाट केही गोप्य कुरा मनमा नै राख्नुपर्छ ।

अर्थात्, सम्बन्धमा घनिष्ठता बढाउनुको सट्टा जब हामी भेट्छौं, खुला दिमागले भेट्नुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ । पुराना मुद्दाहरूमा गुनासो वा झगडा गर्नुको सट्टा हरेक क्षणको आनन्द लिनुपर्छ । हाँसौं र अरूलाई पनि हँसाऔं । जीवनको हरेक पलको आनन्द लिऔं । जीवनको वास्तविक सुख यिनै हुन् । – एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार...