१२ बैशाख २०८१, बुधबार

एकीकरणका कारण विश्वमानचित्रमा नेपालीको अस्तित्व सम्भव भएको हो : अध्यक्ष लिङ्देन

rajendra lingden
फाइल फोटो

 राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता गोष्ठीको आयोजना गरेको छ ।

पार्टीले उहाँले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले भृकुटीमण्डप परिसरमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विभिन्न कविले राष्ट्रनिर्माणका क्रममा राष्ट्रनिर्माताले झेल्नुपरेका दुःख कष्ट, त्याग तथा साहस र योगदानको पक्षलाई विभिन्न आयामबाट अभिव्यक्त गरेका छन् । सोही अवसरमा रक्तदान कार्यक्रमसमेत गरिएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन जलपान समारोहको आयोजना गरिएको छ ।

समारोहमा प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेता, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वलगायतलाई आमन्त्रण गरिएको छ । नेपाली नोटमा पृथ्वीनारायणको तस्बिर अङ्कित गर्न माग गर्दै आएको पार्टीले देशैभर रहेका सबै जिल्ला कमिटीलाई पृथ्वीजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन परिपत्र गरेको छ ।

यसअघि पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा एक टोलीले सिंहदरबार अगाडि शाहको शालिकमा पुगेर माल्यार्पण तथा पुष्पगुच्छा चढाएको थियो । अध्यक्ष लिङ्देनले राष्ट्रनिर्माताले बाइसे चौबिसे राज्यमा छरिएका भू–भागलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेर हामी सबैलाई नेपालीका रुपमा परिचित गराएकाले उहाँलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।

सरकारले पृथ्वीजयन्तीमा दिएको सार्वजनिक बिदाले बहुसङ्ख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान भएको बताउँदै उहाँले तत्कालीन समयमा भएको एकीकरणले विश्वमानचित्रमा नेपाल र नेपालीको अस्तित्व सम्भव भएको विचार व्यक्त गर्नुभयो ।