२० बैशाख २०८१, बिहीबार

लोकतन्त्र र राष्ट्रियताको पक्षमा गठबन्धन उभिएकाे हाे : अध्यक्ष प्रचण्ड

bipachhi gathabandan

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा संविधान, लोकतन्त्र र राष्ट्रियताको पक्षका आफूहरुको गठबन्धन उभिएकाे बताउनुभएकाे छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा पाँच विपक्षी गठबन्धनले नागरिक आन्दोलनका अगुवा, लेखक र बुद्धिजीविहरुसँग छलफल गर्नुहुँदै उहाँले साे कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा व्यवस्था नभएको असंवैधानिक गतिविधिहरु गर्नुभएको उहाँले आराेप लगाउनुभयाे । छलफलमा अगुवाहरुले उठाएको प्रश्नहरुको प्रतिक्रिया दिँदै प्रचण्डले सबै नेताहरु उस्ता–उस्तै हुन्छन् भनेर नसोच्न समेत पुनः दोहो-याउनुभएको छ ।

प्रधानमन्त्रीका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई गठबन्धनले अगाडि सारेकाे बताउँदै आगामी दिनमा विपक्षी गठबन्धनलाई दिगो बनाउनकाे लागि छलफल अघि बढ्ने भनाइ उहाँले राख्नुभएको छ ।

उहाँले वैकल्पिक सरकार गठन हुने वित्तिकै कोभिड–१९ संक्रमण विरुद्धको खोपलाई प्राथमिकता दिइने पनि बताउनुभयाे । यस्तै, नेकपा एमालेका नेता माधवकुमार नेपालले देशको भविष्य राम्रो बनाउनतर्फ सबैले सोच्न आग्रह गर्नुभएकाे छ ।

नेता नेपालले विधि, विधान र अनुशासनमा पाटी, समाज र सबै चल्नुपर्ने विषयमा जोड दिनुहुँदै आगामी दिनमा पनि मूल्य र मान्यताको राजनीति नछोड्ने बताउनुभयो । आफूहरु जनप्रतिनिधि र राजनीतिकर्मी भएको नाताले पनि सबै कुरा कानुन अनुसार चल्नुपर्ने तर वर्तमान परिस्थतिलाई हेर्दा अहिलेको व्यवस्था खतरा उन्मुख रहेको नेता नेपालको भनाइ छ । कतिपय गतिविधिहरुलाई हेर्दा यसले राम्रो सन्देश दिएको छैन, उहाँले आफ्नो धारणा राख्नुभएको छ ।

उहाँले वर्तमान राजनीतिले सुशासन र प्रणालीका सन्दर्भमा युवा पुस्तामा नकरात्मक सन्देश गइरहेको र सकरात्मक नतिजा दिन नसकेको पनि बताउनुभएको छ । पछिल्लो समय विकसित प्रवृत्तिका कारण देश खतरा उन्मुख छ, यसलाई जोगाउनुपर्छ, उहाँले भन्नुभयो ।

छलफल कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।