६ बैशाख २०८१, बिहीबार

सत्ता गठबन्धन पाँचथरमा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने दिशामा

Gathabandhan 2 768x391 1

सत्ता गठबन्धन पाँचथरमा नेकपा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने दिशामा अघि बढेको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा ५ गाउँपालिकाको अध्यक्ष गठबन्धनका उम्मेदवारहरूले जितेका छन् । 

४ गाउँपालिकाको पनि उपाध्यक्षमा गठबन्धनका उम्मेदवारहरू नै निर्वाचित भएका छन् । एक गाउँपालिकामा मात्रै नेकपा एमालेबाट उपाध्यक्ष निर्वाचित भएको छ ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)  गठबन्धनमा छन् । जनता समाजवादी पार्टी धेरै ठाउँमा एमाले र केही ठाउँमा मात्रै सत्ता गठबन्धनसँगको तालमेलमा छ ।  राप्रपाको पनि एमालेसँग गठबन्धन छ । 

गठबन्धनबाट तुम्बेवा गाउँपालिका अध्यक्षमा कांग्रेसका बाबुराम खड्का दुई हजार ७१८ मत र उपाध्यक्षमा माओवादीका खड्गसुन्दर सम्बाहाम्फे दुई हजार ७०८ मतसहित निर्वाचित भएका छन् । 

प्रतिद्वन्द्वी एमालेका गोविन्दबहादुर तामाङ अध्यक्षमा दुई हजार ३११ र नन्द धमलाले दुई हजार नौं मत पाएका छन् । यसअघि २०७४ मा गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए ।

कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि गठबन्धनै उम्मेदवारहरूले जितेका छन् ।  कांग्रेसका बम लावती अध्यक्ष र उपाध्यक्षमा माओवादीका महेन्द्रबहादुर खड्का निर्वाचित भएका हुन् ।

लावतीले एमालेका भीम सम्बाहाम्फे र खड्काले एमालेकै सीता आचार्यलाई पराजित गरेका हुन् । 

निर्वाचन अधिकृतको कार्यालय कुम्मायकले जनाएअनुसार लावतीले तीन हजार ५७ मत र सम्बाहाम्फेले दुई हजार ९०० मत प्राप्त गरेका थिए ।  उपाध्यक्षमा खड्काले दुई हजार ७५८ र आचार्यले दुई हजार ७२४ मत पाएको कार्यालयले जनाएको छ । 

आचार्य यसअघि गाउँपालिकाको उपाध्यक्ष थिइन् । त्यसबेला एमालेले एक्ला एक्लै निर्वाचन लड्दा अध्यक्ष/उपाध्यक्ष दुवै पद जितेको थियो । 

फाल्गुनन्द गाउँपालिकाका कांग्रेसले २०७४ सालमा भएको निर्वाचनको विरासत जोगाएको छ । 

त्यतिबेला गाउँपालिका अध्यक्ष अमर नेम्बाङ र उपाध्यक्ष देवित्राकुमारी आङदेम्बे भएका थिउ । तर, अध्यक्ष नेम्बाङको निधनपछि २०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा भने अध्यक्ष पद एमालेका वीरबहादुर कुरुम्बाङ निर्वाचित भएका थिए । कुरुम्बाङले त्यसबेला कांग्रेसका बृजहाङ आङ्देम्बेलाई पराजित गरेका थिए। 

तर, यस पटक भने आङ्देम्बेले कुरुम्बाङलाई अध्यक्षमा पराजित गरेका छन् ।  आङदेम्बेले पाँच हजार ७३९ मत र कुरुम्बाङले चार हजार ६४३ मत पाएका थिए । 
उपाध्यक्ष पनि गठबन्धनकै तर्फबाट माओवादीका ठाकुरसिंह नेम्बाङ निर्वाचित भएका छन् । 

उनले एमालेसँग तालमेल गरेर उपाध्यक्ष पदमा निर्वाचन लडेकी बबिता नेम्बाङलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दले जनाएअनुसार ठाकुरले पाँच हजार १०१ मत पाउँदा बबिताले चार हजार ४४३ मत प्राप्त गरेकी थिइन् । 

फालेलुङ गाउँपालिकामा कांग्रेसकै वीरविक्रम थाम्सुहाङ अध्यक्ष (५७८९ मत) र माओवादीका महेन्द्र जबेगू ‘फुङ्निमा’ (५२१४ मत) उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । 

एमालेका जयप्रकाश केरुङ (२६८९ मत) अध्यक्षमा र सुजाता राई (२८७५ मत) उपाध्यक्षमा पराजित भएको निर्वाचन अधिकृतको कार्यालय फालेलुङले जनाएको छ। 

२०७४ मा भएको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पद दुवै कांग्रेसले जितेको थियो।  हिलिहाङ गाउँपालिकाको अध्यक्षमा २०७४ मा पराजित कांग्रेसका समरबहादुर अधिकारी निर्वाचित भएका छन् ।

उनले एमालेका भुवानीप्रसाद लिङ्देनलाई पराजित गरे । अधिकारी यसअघि लिङ्देनबाटै पराजित भएका थिए ।  यस पटक अधिकारीले चार हजार ५६५ मत र लिङ्देनले चार हजार ३५८ मत पाएका हुन् ।

उपाध्यक्षमा भने एमालेकी सुमित्रा सेढाई चार हजार १४१ मतसहित निर्वाचित भएकी छिन् । उनी यसअघि पनि उपाध्यक्ष थिइन् । उनले एकीकृत समाजवादीका भवानी लिङदेनलाई चार हजार ११८ मत पाए ।  यहाँ यसअघि एमालेले ‘क्लीन स्वीप’ गरेको थियो । 

जिल्ला उत्तर–पूर्वी क्षेत्रको स्थानीय तह याङ्वरक गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ । यहाँ पनि गठबन्धनकै उम्मेदवारहरू अघि छन् । 

फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा पनि गठबन्धनकै उम्मेदवारहरू अघि छन् ।