१२ जेष्ठ २०७९, बिहीबार

विन–विनको सिद्धान्तका आधारमा गठबन्धनभित्र चुनावी तालमेल हुन्छ : अध्यक्ष नेपाल

madhav nepal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउनुभएको छ।

धनुषाको जनकपुरमा आज (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गठबन्धनमा रहेका दलबीच विन–विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।”

अध्यक्ष नेपालले गठबन्धनमा सहभागि सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गर्ने विषयमा हामी इमान्दार छौँ भन्दै गठबन्धनभित्र विचारमा विविधता देखिए पनि स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा कुनै विवाद नरहेको बताउनुभयो । गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा छलफल जारी रहेको उहाँले जानकारी दिनुभयो।

“गठबन्धनको अवस्था के हुन्छ भन्ने चिन्ता गर्ने पार्टी हाम्रो होइन्”, अध्यक्ष नेपालले भन्नुभयो”, हरेक पार्टी आ–आफ्नो शक्ति र सामथ्र्यका आधारमा चुनाव लड्न तयार छ, हुनु पनि पर्छ ।” अध्यक्ष नेपालले आवश्यकता पर्यो भन्ने ‘विन विन’ का आधारमा सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गरेर जान तयार छौं भन्नुभयो ।

अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा कुनै खासै परिवर्तन नहुने बताउनुभयो । आफ्नो पार्टीप्रति जनताको दिनदिनै आकर्षण बढ्दै गएकाले आगामी स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा जित्ने बताउँदै उहाँले नेता–कार्यकर्तामा देखिएको उत्साहले पार्टीको भविष्य उज्जवल रहेको उल्लेख गर्नुभयो ।

राजनीति व्यापक सम्भावनाको खेल हो, भोलि निर्वाचनमा नेकपा एमालेसँग पनि तालमेल हुनसक्छ कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भन्नुभयो, “एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैन ।” एमालेका नेताको अभिव्यक्ति र व्यवहारका कारण न त उहाँहरूसँग तालमेल हुन्छ न त अन्य कुनै प्रकारको सहकार्य नै हुन्छ, उहाँले बताउनुभयो ।