२६ बैशाख २०८१, बुधबार

क्यानडा र भारतबीच कूटनीति तनाव: गल्ती कसको ?

Canada India

क्यानडामा एकजना प्रभावशाली शिख पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्या भएको विषयलाई लिएर भारत र क्यानडाबीच कूटनीतिक तनाव चुलिएको छ ।

संसद्‌मा सोमबार बोल्दै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका थिए । लगत्तै क्यानडाको विदेश मन्त्रालयले त्यहाँ रहेका एकजना भारतीय कूटनीतिज्ञलाई देश छाड्न आदेश दियो ।

क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले उक्त हत्यामा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई निष्कासन गरिएको जानकारी दिएकी थिइन् । राय भारतीय गुप्तचर संस्था (रअ) का क्यानडास्थित प्रमुख भएको बताइएको छ ।

क्यानडाले लगाएको आरोपलाई भारतले विवेकहीनको संज्ञा दिँदै मंगलबार आफ्नो देशमा रहेका एकजना वरिष्ठ क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न जवाफी आदेश दिएको छ ।

भारतको सुरक्षालाई चुनौती दिँदै आएका खालिस्तानी चरमपन्थीलाई क्यानडा सरकारले लामो समयदेखि आश्रय दिँदै आएको आरोपसमेत दिल्लीले लगाएको छ ।

विवादको मूल जरोका रुपमा देखिएका भारतीय मूलका क्यानेडाली नागरिक हरदीपसिंह निज्जरको क्यानडास्थित ब्रिटिस कोलम्बिया राज्यस्थित एउटा मन्दिर अगाडि गत जुन १८ मा गोली हानी हत्या भएको थियो ।

क्यानडाको सरे सहरस्थित गुरु नानक शिख गुरुद्वारा अगाडिको बसपार्कमा दुई जना नकाब लगाएका बन्दुकधारीले ट्रकभित्र बसिरहेका बेला ४५ वर्षीय निज्जरको गोली हानी हत्या गरेका थिए ।

निज्जर भारतको उत्तरी राज्य पञ्जाबमा शिखहरुका लागि अलग्गै खालिस्तान राज्य स्थापना गरिनुपर्ने मागका एक प्रमुख नेता थिए । निज्जरलाई भारत सरकारले तीन वर्षअघि आतंककारी घोषणा गरेको थियो ।

सन् १९७७ मा पञ्जाबको जालन्धर जिल्लामा जन्मिएका निज्जर २० वर्षको उमेरमा क्यानडा गएका थिए । सुरुमा क्यानडामा उनले धारा बनाउने मिस्त्रीका रुपमा काम गरेको दिल्लीस्थित द्वन्द्व व्यवस्थापनसम्बन्धी एक संस्थाले जनाएको छ ।

क्यानडामा रहँदा उनी बब्बर खालसा इन्टरनेसनल (बीकेआई) नामको शिख पृथकतावादी समूहसँग आबद्ध भएका थिए । भारतले उक्त संस्थालाई आतंकवादी संस्थाको सूचीमा राखेको छ भने पाकिस्तानको गुप्तचर संस्था आईएसआईले यसलाई आर्थिक सहयोग दिँदै आएको भारतको आरोप छ ।

त्यसको केही समयपछि निज्जर खालिस्तान टाइगर फोर्स नामको समूहको अध्यक्ष भएको र खालीस्तान अभियानलाई मलजल गर्ने गरेको भारतीय सरकारको आरोप थियो । निज्जर गुरु नानक शिख गुरुद्वाराका निर्वाचित अध्यक्षसमेत थिए ।

निज्जरको हत्यापछि खालिस्तान समर्थकले क्यानडाको टोरन्टोका साथै बेलायतको लन्डन, अस्ट्रेलियाको मेलबर्न र अमेरिकाको सन फ्रान्सिस्कोमा समेत विरोध प्रदर्शनहरु गरे ।

त्यसो त निज्जरको हत्या हुनुभन्दा अघि भारत सरकार सरकारले चरमपन्थी घोषणा गरेका परमजित सिंहको लाहौरमा हत्या भएको थियो ।

भारतमा शिखहरु कुल जनसंख्याको करिब दुई प्रतिशत छ । पञ्जाबमा भने उनीहरुको बाक्लो उपस्थिति छ । भारत-पाकिस्तान विभाजन हुँदा पञ्जाब पनि दुई भागमा विभाजित भएको थियो । सोही समययता केही शिखहरुले अलग्गै स्वतन्त्र राज्य खालिस्तानको माग गर्दै आएका छन् ।

सन् १९८० को दशकमा खालिस्तान अभियानले स्वतन्त्र राज्यको माग गर्दै भारतमा सशस्त्र विद्रोह नै सञ्चालन गरेको थियो । १९८४ मा भारतीय सेनाले शिखहरुको पवित्र तीर्थस्थल गोल्डेन टेम्पलमा आक्रमणगरी पृथकतावादी नेता जर्नेल सिंह भिन्डरावाले लगायत हजारौंको हत्या गरेको थियो ।

मन्दिरमा आक्रमणको आदेश दिएको भन्दै सोही वर्ष तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको उनकै दुईजना अंगरक्षकले गोली हानी हत्या गरेका थिए ।

मोदी-ट्रुडो खटपट

क्यानडाका प्रधानमन्त्री जस्टिस ट्रुडो गत साता जी २० को सम्मेलनमा भाग लिन नयाँदिल्ली आएका थिए । यसक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग भएको द्विपक्षीय वार्तामा खालिस्तानी पृथकतावादीको विषयलाई लिएर दुई नेताबीच केही खटपट परेको थियो ।

अन्तर्राष्ट्रि समाचार संस्था बीबीसीका अनुसार क्यानडाले खालिस्तानीका गतिविधिलाई रोक नलगाएको भन्दै मोदीले असन्तुष्टि जनाएका थिए । दुई देशबीच हुने भनिएको व्यापार सम्झौतासमेत प्रभावित बन्यो ।

प्रधानमन्त्री ट्रुडोको विमान बिग्रिएका कारण जी-२० को सम्मेलन सकिएको दुई दिनसम्म उनी दिल्लीमै रोकिए । यसक्रममा भारतले उनलाई खासै मतलब नगरेको र होटेलमा दुई दिन गुजारेर उनी क्यानडा फर्कनुपरेको थियो । स्वदेश फर्केलगत्तै उनले संसद्‌लाई सम्बोधन गर्दै शिख नेताको हत्यामा भारत सरकारको संलग्नता रहेको आंशका व्यक्त गरे ।

क्यानडामा खालिस्तानी गतिविधि बढिरहेको छ । खालिस्तानको पक्षमा पोस्टरहरु टाँस्नेदेखि लिएर अलग देशका लागि नमुना जनमत संग्रहसमेत गर्ने कार्यहरु भइरहेको छ । यो विषयलाई लिएर भारतले क्यानडासँग असन्तुष्टि प्रकट गर्दै खालिस्तानी गतिविधि रोक्न आग्रह गर्दै आएको छ ।

उता क्यानडाले भने निज्जरको हत्यासम्बन्धी अनुसन्धान गर्दा भारतीय दूतावासका अधिकारीहरुको समेत संलग्नता देखिएको आरोप लगाएको छ, जसलाई लिएर ऊ भारतसँग चिढिएको छ ।

एउटाले पृथकतावादीलाई समर्थन गरेको आरोप लगाएको छ भने अर्कोले आफ्नो नागरिकको हत्या गरिएको भनेको छ । यो घटनामा कसको दोष छ, समय क्रमले बताउला, तर व्यापारिक तथा जनस्तरमा समेत द्विपक्षीय सम्बन्ध रहेका दुई देशको विवादले आर्थिक र अन्य क्षेत्रलाई समेत प्रभावित पार्ने निश्चित देखिएको छ ।

किनभने, रोजगारी र अध्ययनका सिलसिलामा करिब साढे १८ लाख भारतीय क्यानडामा बसोबास गर्छन् । तर, क्यानडासँग सम्बन्ध बिग्रँदा भारतीय अर्थतन्त्रलाई नकारात्मक असर पर्न सक्ने देखिन्छ ।

    सम्बन्धित समाचार...