६ जेष्ठ २०८१, आईतवार

सन्दीप लामिछाने भन्छन् : यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस्

Sandeep Lamichhane

बलात्कारको आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफू दोषी फाँसीमा चढाउन भनेका छन् । उनले आफूलाई सुनाईएको ८ वर्षको सजायले नपुग्ने बताएका छन्।

उनले सामाजिक अभियन्तालाईहरुलाई आफू र गौशला २६ बीच सम्बन्ध (चाहे जबरजस्ती वा अनुचित प्रभाव) बाट भएको कुरा तथ्य र प्रमाणले सावित गर्न चूनौति दिएका छन् । उनले आफू कानूनले नभई अनुमान र एकतर्फी भनाइले दोषी भएको दाबी गरेका छन् ।

आफूलाई फसाउनेहरूको वास्तविक अनुहार आफै निस्कनेमा विश्वस्त रहेका उनले तथाकथित अभियन्ताहरूलाई आफ्नो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबरजस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको प्रमाणित गरेमा फाँसीको सजाय भोग्न तयार रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा लामिछानेले लामो स्टाटस लेखेर यस्तो चूनौति दिएका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्–‘धेरै समय मौनतामा बसिरहेँ, आफूलाई अन्धकारमा राखिरहेँ अनि प्रतीक्षामा पलपल बाँचिरहेँ । मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसला मा गम्भीर त्रुटि छ, तर पनि धेरै चुप लागेर बसेँ । कानून व्यवसायीले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ, न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुष्टि गर्छ । तर मैले कति सहनु ? म न्याय माग्दामाग्दा सिथिल भइसकेँ ।

सामाजिक संस्था र सामाजिक संजालमा अनि झुटा न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिदीहरु रहेछन् अनि केही प्रभाव पार्ने पत्रपत्रिका । ती तथाकथित र भनाउँदा सामाजिक अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, उहाँहरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको तथ्य र प्रमाणले अझै साबित गर्नुहोस्–यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ बर्षले पुग्दै पुग्दैन । तपाईंहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन, दुनियाले बुझेको छ ।

म कानुनले होइन, अनुमान र एकतर्फी भनाइले दोषी भएको छु, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारका लागि गम्भीर दुर्घटना हुनेछ लेखिराख्नु । भगवानले हेरिरहेका छन्, व्यक्तिभन्दा माथि ती तथाकथित महिला सामाजिक अभियन्ता भन्नेहरु यति स्वार्थी र अपराधी रहेछन् कि जो वास्तविक पीडितहरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको । धिक्कार छ ती तथाकथित अभियन्ताहरु जसले एउटा खोल ओडेर अर्काे ब्यवसाय गर्छन् । मैले यति लेखिरहँदा अब केहीले मलाई पीडितको नाटकीय तुरुप फाल्यो भनेर लेख्लान् । तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सद्बुद्धि आउला ।

म सानैदेखि धर्ममा विश्वास गर्ने व्यक्ति हुँ, जो जो यो बनावटी अभियोगको अभियान मा खटिरहनुभएको छ, कानुनले नहोला धर्मको अग्निपरीक्षामा तपाईहरुले आफ्नो कर्मको फल भोग्नुहुनेछ । यो किन भन्दैछु भने म यो घटनाको निर्दोष पात्र हँु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ । धेरै खोल्न बाँकी छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो । वास्तविक अनुहार आफै निस्केला, मचाहिँ विश्वस्त छु ।

अन्तमा, म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहनेछु । फेरि पनि मेरो यो खुल्ला चुनौती हो ती तथाकथित अभियन्ताहरुलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस् । यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस् मेरा लागि ८ बर्षले पुग्दैन फाँसी नै सही हुनेछ । म त फसँे, बोलेकै भरमा अब अरु कोही नफसोस् । बिन्ती छ ।’

    सम्बन्धित समाचार...