Close Me
१३ माघ २०८१, आईतवार

भक्तराज आचार्यको वायोपिक ‘आचार्य’ पुनः प्रदर्शन हुने

bhaktaraj acharya

गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शन गरिने भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच आगामी असार ७ गते फिल्मलाई पुनः प्रदर्शन गरिने जानकारी गराइयो । फिल्मलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले फिल्म प्रदर्शन गर्नेछ ।

फिल्ममा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले अभिनय गरेका छन् । उनी फिल्मका निर्माता पनि हुन् । पहिलोपटक फिल्म रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले जानकारी दिए । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाई छ । उनका अनुसार, नयाँ फिल्मजस्तै गरी फिल्मलाई रिलिज गरिनेछ । आगामी साता ट्रेलर रिलिज गरिँदैछ ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको फिल्ममा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ । यो फिल्म २०६८ साल (सन् २०११)मा रिलिज भएको थियो । त्यतिबेला फिल्मले राम्रो व्यापार गर्न नसकेको भए पनि उत्कृष्ट समीक्षा मिलेको थियो । यसपछि धेरैपटक ‘आचार्य’को विशेष शो आयोजना भइसकेको छ ।

फिल्ममा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथा फिल्ममा छ । २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो फिल्मले देखाउँछ ।

    सम्बन्धित समाचार...