२६ बैशाख २०८१, बुधबार

क्यानडाको कदमपछि भारतले गर्‍यो क्यानडेली कूटनीतिज्ञलाई देश निकाला

india

एक शिख नेताको हत्याको विषयलाई लिएर भारत र क्यानडाबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । क्यानडामा शिख नेताको हत्या भएको घटनामा भारतको संलग्नता रहेको भन्दै क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेपछि भारतले पनि त्यसको बदलामा क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । भारतले क्यानडाका ती कूटनीतिज्ञलाई देश निकाला गर्दै पाँच दिनको समय दिएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले क्यानडेली कूटनीतिज्ञलाई देश निकाला गरेको जानकारी दिएका हुन् । क्यानडाको उच्चायुक्तलाई भारत सरकारले यसबारे जानकारी गराएको छ । ती कूटनीतिज्ञलाई पाँच दिन भित्र भारत छोड्न भनिएको छ ।

प्रवक्ता बागचीले भनेका छन्, ‘यो फैसला हाम्रो आन्तरिक मामिलामा क्यानडेली कूटनीतिज्ञको हस्तक्षेप तथा भारत विरोधी गतिविधिहरुमा उनको संलग्नतामाथि भारत सरकारको बढ्दो चिन्तालाई दर्शाउँछ ।’

‘भारतस्थित क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारतमा रहेका क्यानडेली कूटनीतिज्ञलाई देश निकाला गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराइएको छ । सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छाड्न भनिएको छ,’ भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णयले हाम्रो आन्तरिक मामिलामा क्यानडेली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नताप्रति भारत सरकारको बढ्दो चिन्तालाई दर्शाउँछ ।’

यसअघि क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । क्यानडाले आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरेपछि भारतले पनि त्यसको बदलामा क्यानडेली कूटनीतिज्ञलाई देश निकाला गरेको हो । दुई देशबीच चिसिँदै आएको सम्बन्धलाई पछिल्लो कदमले थप तानवपूर्ण बन्दै गएको संकेत गरेको छ ।

क्यानडाका प्रधामन्त्री जस्टिन ट्रुडोले क्यानडामा बस्दै आएका शिख नेता हरदीप सिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएका थिए । उक्त आरोपलाई भारतले भने खण्डन गर्दै आएको छ ।

यसै वर्षको जून १८ मा निज्जरको क्यानडाको ब्रिटिस कोलम्बियामा गोली हानी हत्या गरिएको थियो । ट्रुडोले सोमबार क्यानडाको संसदमै यो विषय उठाएका थिए । त्यस क्रममा उनले जी–२० सम्मेलनका दौरान पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँग उक्त विषय उठाएको जानकारी गराएका थिए ।

भारतले शिख नेता निज्जरलाई केही वर्षअघि आतंकवादी घोषणा गरेको थियो । शिख समुदायको खालिस्तान अभियानले भारतको पञ्जाब राज्य अलग हुन प्रोत्साहन गरेको भारतको आरोप छ ।

    सम्बन्धित समाचार...