१४ बैशाख २०८१, शुक्रबार

पूर्व एमालेका अधिकांश नेताहरुले अबको नेता प्रचण्ड भन्न थालेपछि नेकपा फुटाउने षड्यन्त्र भयाे : अध्यक्ष दाहाल

prachanda 2
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताहरुले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह शुरु भएको बताउनुभयो । अध्यक्ष दाहालले तत्कालीन नेकपामा पूर्व एमालेका अधिकांश नेताहरुले अबको नेता प्रचण्ड भन्न थालेपछि पार्टी फुटाउने षड्यन्त्र भएको पनि बताउनुभयो ।

उहाँले नेकपामा रहँदा माओवादीको पंक्ति ठूलो भइदिएको भए पार्टी कब्जा माओवादीले गर्ने पनि बताउनुभयो । अध्यक्ष दाहालले अझै पनि नेकपा एमालेमा रहेका अधिकांश नेताहरु समाजवादी क्रान्तिका लागि तयार इमान्दार कम्युनिष्ट रहेको र उनीहरुको नेतृत्व पनि आफूले गर्नुपर्ने बताउनुभयो । उहाँले नेकपा एमालेको नेतृत्वले पार्टीका नेताहरुलाई प्रतिक्रान्तीकारी र प्रतिगमनका बन्दी बन्न बाध्य बनाएको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष दाहालले देशभित्र र बाहिर प्रतिगमनकारी तत्वले माओवादीको उपलब्धीलाई नष्ट गर्न खोजिरहेको पनि आरोप लगाउनुभयो । उहाँले माओवादीका उपलब्धिलाई सुरक्षित गर्न सबै माओवादी एकत्रित भएर लड्नुपर्ने बेला आएको बताउनुभयो । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुको रणनीति अहिले पनि माओावदीलाई घेरा हालेर सखाप पार्ने रहेको भन्दै त्यसलाई परास्त गर्न माओवादीले सबै माओवादीलाई एकजुट पार्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाएरु अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष दाहालले सबै माओवादीहरु एकतावद्ध भएर नै संविधानको रक्षा र प्रतिक्रियावादीहरुलाई परास्त गर्न सकिने बताउनुभयो ।