१४ बैशाख २०८१, शुक्रबार

लोभी–पापीबीच गठबन्धन हुन गाह्रो हुने एमाले अध्यक्ष ओलीको दाबी

KP sharma oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन लोभी–पापीहरुको भएको भन्दै स्थानीय तह निर्वाचनमा उनीहरुबीच तालमेल हुन सजिलो नभएको टिप्पणी गर्नुभएको छ ।

भक्तपुरमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोभी–पापीहरुलाई गठबन्धन गर्न गाह्रो हुने भएकाले नै निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुईदिनको समय छुट्याएको आरोप लगाउनुभयो ।

उहाँले यसपल्ट उम्मेदवारी दर्ताका बेला गठबन्धनमा झगडा हुने र कुरा नमिल्ने भएकाले मनोनयन दर्ताको समय गठबन्धनले नै दुई दिन राख्न लगाएको जिकिर गर्नुभयो । आयोग सत्तागठबन्धनसँग प्रभावित भएको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले नेपालमा एमालेसँग प्रतिष्पर्धा गर्ने दल नै नरहेकाले आफूहरुले निर्वाचन जित्ने दावी पनि गर्नुभयो ।

तरकारी बजार उद्घाटन गर्दै उहाँले एमाले क्वीन्टलको ढक भएकाले पाँच वटा दललाई एक किलोको ढकको संज्ञा दिनुभयो । उहाँले एमालेसँग प्रतिष्पर्धा गर्न कुनै पनि पार्टीले नसक्ने दाबीसमेत गर्नुभयो ।