७ बैशाख २०८१, शुक्रबार

टक्कर सुरु: हारको डरमा ओली, देउवाले प्राण दिएपछि दाहाल-नेपाल हौसिए

gathbandan vs uml

स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच नै चुनावी तालमेल हुनेभएपछि प्रमुख प्रतिपक्षका रुपमा रहेको नेकपा एमाले दबाबमा परेको छ । अब एमाले सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावमा जाने छ ।

चर्चित मार्सी पात्र दुर्गा प्रसाईँले थापेको तरकारी पसल उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने– ‘गठबन्धन गर्छौ भनेका छन्, तर सजिलो छैन । लोभी पापीहरु मिलेर गठबन्धन हुनै सक्दैन । नेकपा एमालेसँग कुनै दलले प्रतिस्पर्धा गर्नै सक्दैन ।’

मंगलबारमात्रै गठबन्धनको नेतृत्वकर्ता नेपाली काँग्रेसले चुनावी तालमेलसहित स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेपछि ओलीको बोली फुटेको हो । यसअघि तालमेल हुनै नसक्नेमा विश्वस्त देखिएका ओली अब दबाबमा मात्रै परेका छैनन, एमसीसीदेखि चुनावी तालमेलसम्म गठबन्धन फुटाउने प्रयास असफल भएपछि हारको महसुस गरेका छन् । तर ओलीले गर्ने सम्भावित तालमेलले समेत विपक्षीहरु दबाबमा छन् ।

अन्तिमसम्म पनि नेकपा एमाले चाहन्थ्यो, एमसीसीकै कारण गठबन्धन फुटाउँछौं । देउवा पटकपटक बालकोट धाउँदा एमाले झनै विश्वस्त थियो, गठबन्धनको नेतृत्वकर्तासमेत रहेका प्रधानमन्त्री नै आफुसँगको तालमेलमा देखिएपछि विश्वस्त नहुने कुरा पनि भएन । तर यताको विश्वासलाई उताको डर बनाएर देउवाले प्रचण्ड–माधवलाई तर्साउनु तर्साए ।

अन्ततः त्यही डरकै बीच प्रचण्ड–माधव र देउवा एक ठाउँमा उभिएर गत फागुन १५ गते एमसीसी संसद्बाट पारित भयो । एमाले आफ्नो राजनीतिक मुद्धामा असफल त भयो नै उसको गठबन्धन फुटाउने चाहनासमेत जबरजस्त तरिकाले फेल भयो । तर आशाको झिल्को गठबन्धनबीच चुनावी तालमेल नहुनेमा आएर रोकियो ।

बोलीमा ओली जति दमदार देखिएपनि चुनावी तालमेल भइहाल्ने डरले तनाव बढेको थियो । अन्ततः देउवाको दृढ अडानले लामो रस्साकस्सीपछि गठबन्धन गरेरै जाने काँग्रेसको निर्णयले एमालेमा थप तनावमात्रै थपेको छैन, गठबन्धनविरुद्ध एक्लै चुनावमा जानुपर्ने भएको छ । तर गठबन्धनका दलहरु चुनावी तालमेल हुनुनै एमाले बलियो भएको संकेतका रुपमा एमाले नेताहरुले बुझिरहेका छन् ।

काँग्रेसले आवश्यकताअनुसार गठबन्धनकै दलहरुबीच चुनावी तालमेल गर्ने भनेको छ । एमालेसँग सम्भावना रहेका स्थानीय तहमा समेत तालमेल हुनेछैन । काँग्रेसको निर्णयपछि प्रचण्ड–माधव हौसिएका बेला ओली चुनौतीको सामना गर्दै चुनावमा जानुपर्ने बाध्यतामा फसेका हुन् । तर आफु अनुकुलका दलसँग तालमेल गर्दै चुनावमा जाने छुट भने ओलीका अघि पनि छ ।

यसका लागि राप्रपा र लोसपासहितका दलसँग गृहकार्य चलाएको एमाले नेताहरु बताउँछन् । साथै गठबन्धनमा अवसर नपाएर विच्किएका नेताहरुलाई पनि ओलीले प्रयो गर्ने सम्भावना उतितकै छ ।