२२ बैशाख २०८१, शनिबार

‘आर्थिक र सामाजिक समृद्धिमा लाग्न आवश्यक’

Pampha Bhusal
फाइल फोटो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा राजनीतिक परिवर्तन आइसकेको हुनाले अब आर्थिक र सामाजिक समृद्धिमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) महाभारत–उपत्यका सम्पर्क समन्वय समितिले काभ्रपेलाञ्चोकको बनेपामा आज आयोजना गरेको वैचारिक–राजनीतिक प्रशिक्षणमा मन्त्री भुसालले आफ्नो ठाउँमा भएका साधन स्रोतको भरपुर प्रयोग गर्न अबको चुनावी एजेन्डा बन्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)ले गरेको जनयुद्धको जगमा भएको जनआन्दोलनको नयाँ ढङ्गको क्रान्तिबाट संविधान लिपिबद्ध गरिसकेको र सिंहदरबारको अधिकारलाई जनताको घर आँगनमा पुर्‍याएका कारण त्यहीँबाट सबै खाले अधिकार प्राप्त गरिसकेको अवस्थामा बाँकी अधिकार अब आउने निर्वाचनबाट थप उपलब्ध गराउने उहाँले बताउनुभयो ।

कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले व्यवस्था फेरिए पनि डाँडापारिको जनताको अवस्था फेर्न नसकिएको उल्लेख गर्दै अवस्था फेर्ने काममा गाउँपालिकाले प्रयास गरिरहेको बताउनुभयो । डाँडापारिका सबै ठाउँमा सडकको ट्र्याक खोलेका कारण त्यहाँका जनताले त्यसलाई कालोपत्रे भएको देख्न चाहेकाले त्यसलाई पूरा गर्न आवश्यक बजेट व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा काभ्रेपलान्चोक जिल्ला इन्चार्ज सूर्यमान दोङ, पार्टीका बागमती प्रदेश अध्यक्ष सरल पौडेल (सहयात्री) र सचिव इन्द्रबहादुर थिङ लगायतले प्रशिक्षण दिनुभएको थियो ।