१६ चैत्र २०८०, शुक्रबार

ललितपुर क्षेत्र नम्बर ३ को चुनावी प्रतिस्पर्धा रोचक

pampha bhusal vs madan

सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उपमहासचिव एवं ऊर्जामन्त्री पम्फा भुसाल र एमालेका अमृत खड्कासहित २० जनाको उम्मेदवारी रहेको ललितपुर क्षेत्र नम्बर ३ को निर्वाचनलाई चासोका साथ हेरिएको छ। राजनीतिक दलमा स्थापितसँगै भिन्न पेसा र व्यवसायमा संलग्न व्यक्तिहरूको उम्मेदवारीले पनि यो क्षेत्रको प्रतिस्पर्धालाई रोचक बनाएको छ ।

यो क्षेत्रबाट यसअघि २ पटक नेकपा माओवादी केन्द्रबाट निर्वाचित भई पटक पटक मन्त्री बनेकी पम्फा भुसाल तेस्रो पटक चुनावी मैदानमा छिन् । ऊर्जा मन्त्री भुसाललाई सत्ता गठबन्धनको साथ छ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा एमालेका रघुजी पन्तलाई पराजित गरेकी उनले र २०७४ को चुनावमा कांग्रेसका मदनबहादुर अमात्यलाई हराइन् । आफ्ना अधुरा काम पुरा गर्ने उनको योजना छ।

माओवादी केन्द्रकी उपमहासचिव ६० वर्षीया भुसालसँग एमालेका अमृत खड्का चुनावी प्रतिस्पर्धामा छन् । लामो समय निकासी व्यापारमा संलग्न खड्का २०५४ सालमा तत्कालीन शैंबु गाविसको अध्यक्ष चु्निएका थिए ।

पाटन अस्पतालको जागिर छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएकी ३३ वर्षीया डाक्टर तोसिमा कार्कीको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ ।

परम्परागत शक्तिका रुपमा रहेका माओवादी र एमाले उम्मेदवारका बीचमा मुख्य प्रतिस्पर्धा देखिए पनि साना दल र स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा चुनावी माहोल बनाउन सक्रिय छन् ।

स्थानीय तह निर्वाचनको मतपरिणाममलाई आधार मान्दा यस क्षेत्रमा सत्ता गठबन्धन र एमालेको मतमा धेरै अन्तर छैन । राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवार पनि यिनै मतदातालाई रिझाउन लागेकाले पनि नतिजा आकलन गर्न सहज छैन ।