१४ बैशाख २०८१, शुक्रबार

शासकीय स्वरुपको विषयमा पुनर्विचार गर्ने पक्षमा एमाले छैन : उपाध्यक्ष पौडेल

bishnu poudel
फाइल फोटो

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी शासकीय स्वरुपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।

न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उहाँले संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरुपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको हो । संविधानको रक्षा र यसको प्रभावकारी कार्यान्वयनको क्रममा आर्जित अनुभवको आधारमा आउने दिनमा संविधान संशोधन हुँदै जाने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले संविधानको प्रभावकारी कार्यान्वयननै आफ्नो पार्टीको केन्द्रिय विषय भएको उहाँले बताउनुभयो ।

“संविधान निर्माण पूर्व शासकीय स्वरुपका प्रश्नमा विषयमा दलहरु आफ्ना आफ्ना मान्यताहरु थिए । र, हामीले पनि आफ्ना मान्यताहरू सार्वजनिक गरेका हौं । त्यस हिसावले छलफल गरेका हौं । र, एउटा निष्कर्षमा पुग्दा हामीहरू विभिन्न दलहरू एउटा साझा सहमतिमा आइपुग्यौं,” उपाध्यक्ष पौडेलले भन्नुभयो, “निष्कर्षमा आइपुग्यौं । र, अहिलेको संविधान जारी भएको छ । र, यो संविधानले यस्तो प्रकारको शासकीय स्वरुप अवलम्वन गर्ने निष्कर्ष अघि सारेको छ । आजको आवश्यक्ता शासकीय स्वरुपको बारेमा विचार वा पुनर्विचार भन्दा पनि आजको आवश्यक्ता संविधानको रक्षा हो । संविधानको प्रभावकारी कार्यान्वयन हो ।”

उपाध्यक्ष पौडेलले संविधानले सुनिश्चित गरेका मौलिक हकहरूको निर्वाध नागरिकले उपभोग गर्न पाउने परिस्थितिको निर्माणमा पनि आफ्नो पार्टी लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी समेत गर्नुभएको छ ।

सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै सिर्जना गरेको दाबी गर्नुभयो । सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरूलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने निष्कर्षमा पुगेको उहाँको भनाइ छ । अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उहाँले जिकिर गर्नुभयो ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उमेदवारसमेत रहनुभएका उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको पार्टी भएको दाबी गर्नुभयो । उहाँले छिट्टै पार्टी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो ।