१३ बैशाख २०८१, बिहीबार

लुम्बिनी गुरुयोजनाका लागि बजेटको अभाव हुँदैन, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

Bishnu Paudel

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि स्रोतको अभाव नभएको दाबी गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर लुम्बिनीको सामथ्र्य’ विषयक अर्थ सामाजिक बहसमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

जापानी वास्तुविद्, प्राध्यापक केन्जो टांगेले ६ वर्ष लगाएर तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि बजेटको अभाव नहुने अर्थमन्त्रीको भनाइ छ ।

‘अब यसमा हामीलाई कुनै पनि हिसाबले विलम्ब गर्ने छुट छैन । हामीले बजेटको, स्रोतको व्यवस्था गरेका छौँ । अब समय र गुणस्तरमा हामीले ध्यान दिऔँ, मेरो अनुरोध छ ।’ उनले भने ।

योसँगै लुम्बिनीको मात्रै विकास गरेर नपुग्ने अर्थमन्त्री पौडेलको भनाइ छ । लुम्बिनीसँग जोडिएका बुद्धकालीन सम्पदा क्षेत्रलाई पनि अन्तर सम्बन्ध गरेर लैजानु पर्छ भन्ने सोचका साथ बृहत लुम्बिनी गुरुयोजनालाई अघि सारिएको उनले बताए ।

लुम्बिनीको सम्भावनालाई सार्थक तुल्याउन सके देशकै इज्जत बढ्ने बताउँदै उनले गुरुयोजना कार्यान्वयनका लागि स्रोतको प्रबन्ध गरिएको बताए ।

टांगेले सन् १९७२ मा सुर गरेर १९७८ मा लुम्बिनी गुरुयोना तयार गरेर तत्कालीन नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।

लुम्बिनीको सम्भावनालाई सार्थक तुल्याउन कुनै पनि प्रकारको कसर कसैले पनि राख्न नहुने उनको भनाइ थियो । ‘राज्यले राख्नु हुँदैन, जनप्रतिनिधि संस्थाहरुले राख्नु हुँदैन, नागरिक समाजले राख्नु हुँदैन, सामाजिक जीवनका कुनै पनि क्षेत्रले लुम्बिनीको सम्भावनालाई देख्न र पछ्याउनका निम्ति कुनै पनि प्रकारको कमी रहनु दिनुहुँदैन भन्ने मलाई लाग्छ ।’ उनले भने, ‘यसको सम्भावनालाई सार्थक तुल्याउन सक्दा सिँगो राष्ट्रको आर्थिक र सामाजिक हैसियत तथा विश्वमा सिँगो राष्ट्रको इज्जत धेरै माथि उठ्छ भन्ने मेरो विश्वास छ ।’