१४ बैशाख २०८१, शुक्रबार

ऊर्जामन्त्री भुसालकै आपत्ति: सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन

Pampha Bhusal
फाइल फोटो

एकीकृत बागमती सभ्यता विकास समितिले थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री पम्फा भुसालले आपत्ति जनाएकी छन् ।

मन्त्री भुसालले सुकुम्वासीमाथि  बल प्रयोग गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिएकी छन् । सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन बल प्रयोग गरेपछि मन्त्री भुसालले यस्तो प्रतिक्रिया दिएकी हुन् । 

‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् । 

उनले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नहुने भन्दै दीर्घकालीन रुपमा समस्या समाधान गरिनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा दलबलसहित महानगरको टोली पुगेपछि तनाव सिर्जना भएको थियो । स्थानीयहरूले महानगरको टोलीमाथि ढुंगामुढा गर्दा प्रहरीसहित दर्जन बढी घाइते भएका छन् ।

निर्वाचनअघि १० दिने सूचना जारी गर्दै समितिले दिइएको समयावधिभित्र घरटहरा नहटाए आफैंले खाली गर्ने सूचना जारी गरेको थियो । तर, निर्वाचनअघि मतदाता रुष्ट हुने भन्दै सो कार्य थाती राखिएको थियो ।

कुनै विकल्प नदिई घरटहरा हटाउन लागेको भन्दै सुकुम्बासीहरूले करिडोर र प्रसुतिगृह छेउमा सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले घरटहरा खाली गर्न आउने सुरक्षाकर्मीमाथि घरेलु हतियारले आक्रमण गरेका छन् । जसबाट काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित एक दर्जन सुरक्षाकर्मी घाइते भएका छन् ।

यस्तै स्थानीयले सरकार र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।