१३ बैशाख २०८१, बिहीबार

छ जिल्लामा वर्ड फ्लु संक्रमण

bird flue

बागमती प्रदेशका ६ जिल्लामा वर्ड फ्लुको संक्रमण देखा परेको प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बुधवार हेटौँडामा पत्रकार सम्मेलन गरेर प्रदेशका मकवानपुरसहित काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र सिन्धुपाल्चोक जिल्लामा वर्ड फ्लु संक्रमण देखा परेको जनाएको छ ।

मन्त्रालयले वर्ड फ्लु संक्रमण भएको पहिचान भएपछि माघ १६ गतेदेखि हालसम्म ५८ हजार २ सय ६१ पन्छी नष्ट गरिसकेको जनाएको छ । यस्तै २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तरिकाले नष्ट गरिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक भोगलप्रसाद साहले जानकारी दिनुभयो ।

मन्त्रालयले वर्ड फ्लु रोग रोकथामका लागि प्रदेश सरकार मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा कर्मचारीलाई लामो बिदा नबस्न र जिल्ला नछाड्न पत्राचार समेत गरेको जनाइएको छ ।