२६ बैशाख २०८१, बुधबार

मैले गरेको निर्णय फेल भयो भने राजीनामा दिन्छु -प्रचण्ड

prachanda 1
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)काे प्रस्ताव पार्टीमा फेल भएको खण्डमा राजीनामा दिने बताएका छन् ।

आइतबार प्रदेश नम्बर -१ को पार्टी प्रशिक्षणका लागि विराटनगर पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमसीसीको विवादलाई चुनावपछि फेरि छलफलमा ल्याउने गरी पार्टीमा टुंग्याइएको र पछि छलफल गर्दा आफ्नो निर्णय र प्रस्ताव फेल भएमा आफूले राजीनामा दिने बताएका हुन् ।

‘चुनावसम्म यो विषयलाई अपिलमार्फत एउटै भाषा बनाउने र चुनावपछि फोरम चलाएर छलफल गर्ने सहमति भएको छ । माओवादी पार्टी फुट्छ कि भन्ने चिन्तालाई धैर्यतापूर्वक विवेकसम्मतरुपमा समाधान गरेका छौं ।’ उनले भने, ‘चुनावपछि पार्टीमा छलफल हुन्छ । साे क्रममा प्रस्ताव फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुस् ।’

साथै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाले एमसीसी पारित गर्दा व्याख्यात्मक घोषणालाई पनि सम्झौताकै अंग मानेको दाबी गर्दै यसले तत्कालीन समस्याको समाधान निस्केको दाबी पनि गरे। उनले एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिए ।