
दोलखाको कालिञ्चोक मन्दिर पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन बारे कटाक्ष गर्नुभएको छ ।
पत्रकारले सत्ता गठबन्धनको बिषयमा प्रश्न गरेपछि ‘यो पवित्र भूमिमा आज दैत्य, दानवका कुरा नगरौं’ भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएको एमाले अध्यक्ष ओलीले यस्तो कटाक्ष गर्नुभएको हो ।
उहाँ पत्नी राधिका शाक्य सहित शुक्रबार विहान ९ बजे हेलिकप्टरमा कालिञ्चोक मन्दिर पुग्नु भएको थियो ।
उहाँले ३८४२ मीटर उचाईको कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्नु भएको थियो ।
अध्यक्ष ओलीले मन्दिरको दर्शन तथा वरिपरीका हिमालहरूको अवलोकन गर्नु भएको थियो । उहाँले ३ घण्टा भन्दा बढी कालिञ्चोकमा बिताउनु भएको थियो । कालिन्चोकबाट ओली हेलिकप्टर मार्फत दोलखाको शैलुङ्मा मदन भण्डारी साहित्य प्रतिष्ठानले आयोजना गरेको शैलुङ साहित्य साँस्कृतिक महोत्सव २०७८को उद्घाटनका लागि जानु भएको थियो ।


