१२ जेष्ठ २०७९, बिहीबार

कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलन दबाउन आएको हो एमसीसी: विप्लव

biplab

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनकोरूपमा दर्ज भएको बताउनु भएको छ ।

विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रुपमा दर्ज भएको बताउनु भयो ।

‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो,’ उहाँले भन्नुभयो ‘नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसीसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’

नेपालको स्रोत साधनमाथि हस्तक्षेप गर्ने रणनीतिअनुसार अमेरिकाले अनुदानको रुपमा पैसा दिएको उहाँको आरोप छ ।

अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाब लागि परेको भन्दै उहाँले एमसीसी भनेको २१औँ शताब्दीको उपनिवेश रहेको दाबी गर्नुभयो ।

अनुदान सहयोगको हस्तक्षेप नीतिअनुसार आएको एमसीसी नेपालमा उपनिवेश लाद्न ल्याएको आरोप लगाउनु हुँदै विप्लवले अनुदान सहयोग लिन सकिए पनि एमसीसी उपनिवेशको नीति लिएर ल्याएको जिकीर गर्नुभयो ।

केही व्यक्तिको मन्त्री र सांसदको पद जोगाउन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितविपरीत रहेको एमसीसी अनुमोदनमा सहमति जनाएको उहाँको भनाइ छ ।